पोखरा, २३ मंसिर।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतले ४ दिनको हिरासत थप गरेको छ। आइतबार बिहान प्रहरीको अनुरोधमा अदालतले लामिछानेमाथि थप अनुसन्धानका लागि हिरासत अवधि बढाएको हो।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान जारी छ। यसअघि म्याद सकिएसँगै उनलाई अदालतमा पेश गरिएको थियो। प्रहरीका अनुसार मुद्दा सम्बद्ध अनुसन्धान नसकिएकाले हिरासत थप गरिएको हो। हिरासतमै रहेका बेला उनलाई बुटवल, काठमाडौं र चितवनमा बयानका लागि लगिएको थियो।

प्रहरीले गोरखा मिडिया नेटवर्कमार्फत देशभरका ९ वटा सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो। सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीले कीर्तेसहित संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

संसदीय विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चार जनालाई सहकारीको रकम अपचलन आरोपमा कारबाही गर्न सिफारिस गरेको थियो। समितिको सिफारिसअनुसार गोरखा मिडियाका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीविरुद्ध मुद्दा दायर गरिएको छ। लामिछानेसहित रम्तेल र जोशीलाई नियन्त्रणमा लिइएको छ भने मुख्य योजनाकार मानिएका राई फरार छन्।

समितिले देशभरका सहकारीबाट अनियमित तवरले गोरखा मिडियामा रकम सारिएको ठहर गरेको छ। अपचलनमा संलग्न सहकारीमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानोपाइला, इमेज, समानता, सुमेरू र आइएमई सहकारी छन्। समितिले यी सहकारीका सञ्चालक र निर्णय प्रक्रियामा संलग्नलाई कानुनी कारबाही गर्न सिफारिस गरेको छ।

अनुसन्धान जारी रहँदा प्रहरीले थप प्रमाण संकलनका लागि लामिछानेमाथि बयान लिने प्रक्रिया जारी राखेको जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0