झापा, २५ मंसिर। बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई घरेलु कामदार किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा चार दिनका लागि हिरासतमा राख्न जिल्ला अदालत झापाले अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दका अनुसार, यस अवधि भित्र प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ।
शिवाकोटीलाई सोमबार अपराह्न इलाका प्रहरी कार्यालय, अनारमनीले पक्राउ गरेको थियो। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार यो गम्भीर विषय भएकाले चार दिनमा अनुसन्धान सम्पन्न नहुने बताइएको छ। “हामीलाई थप म्याद आवश्यक पर्छ,” एक अधिकारीले अनलाइनखबरसँग भने।
पीडित बालिकाको बुबा नभएको र उनकी आमा भारतको आसाममा बसोबास गर्ने जानकारी प्राप्त भएको छ। उनी घरको काम गर्न र पढ्नका लागि घरेलु कामदारको रूपमा राखिएकी थिइन्। तर, उक्त बहानामा उनलाई पटक–पटक जबरजस्ती करणी गरिएको आरोप छ।
किशोरीले सुरुमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टास्थित महिला सेलका अधिकारीलाई घटनाबारे सुनाएकी थिइन्। भारत जान लागेका बेला उद्दार गरिएकी ती किशोरीले जबरजस्ती करणीको घटना बयान गरेपछि काँकरभिट्टाका प्रहरी अधिकारीले उनलाई अनारमनी पठाएका थिए। अनारमनी प्रहरीसमक्ष पनि किशोरीले उस्तै बयान दिएपछि शिवाकोटीलाई पक्राउ गरिएको हो।
ध्रुवकुमार शिवाकोटी २०७४ सालमा बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। उनी नेकपा एमालेका तर्फबाट मेयर पदमा निर्वाचित भएका थिए। २०७९ सालको स्थानीय निर्वाचनमा पनि शिवाकोटी मेयरका लागि टिकटको प्रबल दाबेदार थिए। तर, एमालेले अन्ततः पवित्रा महतरा प्रसाईंलाई अघि सारेको थियो, जसले अहिले बिर्तामोडको मेयर पद सम्हालेकी छिन्।
प्रहरीले घटनाको गहिरो अनुसन्धान गरिरहेको र आवश्यक परे थप म्यादका लागि निवेदन दिने तयारी गरेको जानकारी दिएको छ।
(स्रोत: अनलाइनखबर)




























