२८ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी मापदण्ड अनुसार लागू गर्न निर्देशन दिएको छ। सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पतालहरूलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीहरूको सेवा सुविधा सुनिश्चित गर्न भनेको छ।
निर्देशनमा स्वास्थ्यकर्मीले तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यस्तै, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूले करार सम्झौतामा मात्रै कर्मचारी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने र सक्कल शैक्षिक प्रमाणपत्रहरू कार्यालयमा रोक्न नपाइने स्पष्ट गरिएको छ।
स्वास्थ्यकर्मीलाई अनुभव प्रमाणपत्र प्रदान गर्नुपर्ने र उनीहरूको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने पनि निर्देशनमा जनाइएको छ। मन्त्रालयको यस निर्णयले स्वास्थ्यकर्मीहरूको अधिकार र सेवा सुविधाको व्यवस्था सुनिश्चित गर्न महत्त्वपूर्ण कदम हुने विश्वास गरिएको छ।

































