पोखरा, पुस ५ । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कास्की प्रहरी हिरासतभित्रको तस्बिर भाइरल भएपछि प्रहरी र रास्वपाका कार्यकर्ताबीच विवाद चुलिएको छ। तस्बिर डा. निकोलस भुषालले खिचेको दाबी गर्दै माफी मागे पनि यसको प्रयोग र सार्वजनिक गर्ने उद्देश्यबारे प्रश्न उठिरहेका छन्।

सो तस्बिर सार्वजनिक भएपछि रास्वपाका कार्यकर्ताले प्रहरीकै संलग्नता रहेको आरोप लगाएका छन्। पार्टीका सहकोषाध्यक्ष दीपक बोहराले कास्की प्रहरी हिरासतमा मोबाइल लैजान नपाइने कडा नियम रहेको दाबी गर्दै प्रहरीकै मिलेमतोमा फोटो खिचिएको बताएका छन्।

यस विषयमा प्रहरी प्रशासन पनि आलोचनाको सामना गरिरहेको छ। कास्की प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा सामग्री सार्वजनिक गर्ने जो कोहीलाई साइबर अपराधसम्बन्धी कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले हिरासतमा गोपनीयता कायम गर्नुपर्ने कानूनी व्यवस्था उल्लंघन भएको जनाएका छन्।

गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षकसँग तस्बिरबारे स्पष्टीकरण मागेका छन्। यसबीच, लामिछानेले हिरासतमा रहँदा १७ पुस्तक पढेको रास्वपाका सहकोषाध्यक्ष बोहराले उल्लेख गरेका छन्।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका छन्। कास्की प्रहरीले तीनवटा मुद्दामा अनुसन्धान गरिरहेको छ भने सरकारी वकिलले अभियोगपत्र दायर गर्ने तयारी गरिरहेको छ।

उनको मुद्दामा म्याद थप गर्दै २ पुससम्मको समयसिमा कायम गरिएको छ। शुक्रबार म्याद सकिने भएपछि आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइनेछ। सम्भवतः सोही दिन अभियोगपत्र दायर हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0