काठमाडौं, पुस ६ – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जित्दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विजय उत्सव मनाएको छ। फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले क्रिकेट इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएको छ।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको जनकपुरले १९.२ ओभरमै लक्ष्य पूरा गर्यो। लाहिरु मिलान्थाको उत्कृष्ट प्रदर्शन जनकपुरको जितको मुख्य आधार रह्यो। उनले ४९ बलमा ९ चौका र ४ छक्काको मद्दतले ८७ रन बनाए। पहिलो विकेटका लागि मिलान्थाले कप्तान आसिफ शेखसँग ७३ रनको साझेदारी गरे। कप्तान शेखले १९ बलमा ४ चौका र २ छक्कासहित ३३ रन जोडे।

जनकपुरको ब्याटिङक्रममा हर्शक थाकरले पनि महत्त्वपूर्ण योगदान गरे। उनले २४ बलमा २ छक्कासहित अविजित ३० रन बनाए। खेलको अन्तिम क्षणमा मयन यादवले विजयी रन प्रहार गर्दै टोलीलाई ऐतिहासिक सफलता दिलाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। सुदूरका ओपनर सैफ अली जैबले ४३ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६९ रन बनाए। अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा १ चौका र ३ छक्कासहित ४१ रनको योगदान गरे। तर, मिडल अर्डर र लोअर अर्डरले अपेक्षित प्रदर्शन गर्न नसक्दा सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमायो।

जनकपुरका बलर किशोर महतो र मोहम्मद मोहसिनले समान तीन-तीन विकेट लिए। ललित राजवंशीले ४ ओभरमा मात्र १५ रन खर्चेर एक विकेट लिए। उनको किफायती बलिङले सुदूरलाई ठूलो स्कोर बनाउनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्यो।

जितसँगै जनकपुर बोल्ट्सले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। कीर्तिपुर क्रिकेट मैदानमा खेल हेर्न आएका समर्थकहरूले जितपछि उत्सव मनाएका थिए।

नेपाल प्रिमियर लिगको यो पहिलो संस्करण नेपाली क्रिकेटको इतिहासमा महत्वपूर्ण उपलब्धि बन्यो। रोमाञ्चक फाइनलसँगै प्रतियोगिताले नेपाली क्रिकेटप्रेमीहरूको मन जितेको छ।

 

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0