People tires to rid of cold by sitting infront of electric heater

पोखरा, पुस ८ गते । जाडो मौसममा चिसो दिन प्रतिदिन बढ्दै गएको छ। चिसोबाट बच्नका लागि मानिसहरूले विभिन्न उपाय अपनाउँछन्। दाउरा, कोइला, मकल, ग्यास हिटर, र ग्यास गिजरको प्रयोग गरेर शरीर र कोठा न्यानो बनाउने चलन बढेको छ। तर, यस्ता उपकरणको असुरक्षित प्रयोगले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने भएकाले सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

झ्यालढोका बन्द गरेर हिटर वा आगो ताप्दा कोठाको अक्सिजनको मात्रा घटेर निसासिने समस्या निम्तिन सक्छ। प्रत्येक वर्ष यस्ता घटनामा अकालमै ज्यान गुमाउने मानिसहरूको संख्या बढिरहेको छ। छातीरोग विशेषज्ञ डा. प्रकाश पौडेलका अनुसार ग्यास गिजर र ग्यास हिटरबाट निस्कने कार्बन मोनोअक्साइड ग्यासले शरीरमा अक्सिजनको मात्रा घटाई मस्तिष्कमा क्षति पुर्याउन सक्छ। यस्तो अवस्थामा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी हुने, र मन्द बेहोसीजस्ता लक्षण देखिन्छन्।

छालारोग विशेषज्ञ प्राडा. धर्मेन्द्र कर्णका अनुसार हिटर प्रयोग गर्दा कोठाको हावा सुख्खा हुने र यसले छाला, आँखा, र ओठ सुक्खा बनाउने समस्या निम्त्याउँछ। यसबाट रगत बग्ने, छाला फुस्रो हुनेजस्ता समस्या हुन सक्ने भएकाले हिटर बाल्दा अनिवार्य रूपमा पानी राख्न र दुईदेखि तीन मिटर टाढा बस्न सुझाव दिइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जाडो मौसममा हिटर, गिजर, र आगो बाल्दा सावधानी अपनाउन आग्रह गरेको छ। हावा ओहोरदोहोर हुने स्थानमा मात्र यस्ता उपकरण प्रयोग गर्न र प्रयोग गरेपछि अनिवार्य रूपमा निभाउन सुझाव दिइएको छ। गिजरको मुख्य मेसिन खुला ठाउँमा जडान गर्न र लामो समय बाथरुममा नबस्न पनि मन्त्रालयले सल्लाह दिएको छ।

जाडोबाट बच्न उपकरणहरूको प्रयोग गर्दा ध्यान दिनु महत्वपूर्ण छ। हेलचेक्राइँ गर्ने हो भने यसले जीवन गुमाउनुपर्ने जोखिमसमेत निम्त्याउन सक्छ। सुरक्षित र सचेत उपाय अपनाएर मात्रै चिसोबाट बच्न सकिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0