पोखरा, २३ डिसेम्बर। पोखरा विश्वविद्यालयका उपकुलपतिमा प्राडा वेदराज केसी नियुक्त भएका छन्। प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनलाई आगामी चार वर्षका लागि उपकुलपति नियुक्त गरेका छन्।
पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २४ अनुसार उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। समितिमा मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सहप्राडा अजय थापा र स्वास्थ्य विज्ञान संकायका डीन सहप्राडा अमर नागिला सदस्य रहेका थिए। उक्त समितिले १२ जना आवेदकहरूको अन्तर्वार्ता र कार्ययोजनाको मूल्यांकन गरी तीन जनाको नाम सिफारिस गरेको थियो।
प्रगतिशील प्राध्यापक संगठन नेपालका केन्द्रीय अध्यक्ष प्राडा केसी २०२४ सालमा रोल्पाको गैरिगाउँमा जन्मिएका हुन्। उनले त्रिविबाट विज्ञान विषयमा स्नातक र स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा प्राध्यापन गर्दै आएका प्राडा केसीका चार दर्जनभन्दा बढी अनुसन्धानपत्र स्वदेशी र विदेशी जर्नलमा प्रकाशित भएका छन्।
पोखरा विश्वविद्यालयको नेतृत्व सम्हाल्न उनलाई उपकुलपति नियुक्ति भएकाले शिक्षा र अनुसन्धानमा सुधार ल्याउने आशा गरिएको छ।

































