लमजुङ । लमजुङको सुन्दरबजारमा तीन माविका ३० विद्यार्थीलाई विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धी ४ दिने तालिम सम्पन्न गरिएको छ। यो तालिम सुन्दरबजार नगरपालिका-२ र ५ का विद्यार्थीहरूको लागि दिइएको हो।
नमुना सामुदायिक अस्पतालले आयोजना गरेको यो तालिम ‘नमुना सामुदायिक अस्पतालको नमुना काम: विपद् व्यवस्थापन फस्टएड’ कार्यक्रम अन्तर्गत भएको हो। कार्यक्रममा सुन्दरबजार नगरपालिका-२ का कान्तिमन्दिर मावि र महेन्द्र मन्दिर मावि र वडानं-५ को विद्याज्योति माविका ३० विद्यार्थीहरूले भाग लिएका थिए।
तालिमको क्रममा विद्यार्थीहरूलाई सैद्धान्तिक र प्रयोगात्मक विधिहरू मार्फत विपद् व्यवस्थापन र प्राथमिक उपचारका महत्वपूर्ण ज्ञान दिइएको थियो। सशस्त्र प्रहरी बल लमजुङका विशेषज्ञहरूले तालिममा सहयोग पुर्याएका थिए। आगो नियन्त्रण, घाइतेलाई ओसारपसार गर्ने तरिका र फस्टएडका विभिन्न विधिहरूका बारेमा जानकारी दिइएको प्रशिक्षक शोभा ठकुरीले बताइन्।
समापन कार्यक्रममा १५० जना अभिभावकहरूको उपस्थिती रहेको थियो। सुन्दरबजार-२ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सो तालिम सम्पन्न भएको हो। आउँदो जनवरी महिनाबाट सुन्दरबजार नगरपालिकाका अन्य दुईवटा वडा नं. ६ र ८ मा पनि यस्ता तालिमहरूको आयोजना गरिने तयारी गरिएको छ।


























