पोखरा, १४ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका लागि प्रमुख दलहरूसँग सहमति आवश्यक रहेको बताएका छन्। माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै उनले संविधान संशोधनका निम्ति समीक्षाको आवश्यकता औंल्याए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारका दुई प्रमुख दलको उच्चस्तरीय राजनीतिक संयन्त्रले संविधान संशोधन प्रक्रियाका काम अघि बढाउने उल्लेख गरे। उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा विचाराधीन विधेयकहरू शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयकहरू मापदण्ड तयार गरी टुंगो लगाउने योजना रहेको जानकारी दिए।
मन्त्री गुरुङले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन निर्माणका प्रक्रिया अघि बढिसकेको बताए। यस कार्यलाई शीघ्र सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले जनाए।
कार्यक्रममा उनले ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र स्थापना हुनु सकारात्मक पहल भएको उल्लेख गर्दै केन्द्र सञ्चालनमा सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा स्वीट्जरल्याण्डका एहमान स्टिफटङको आर्थिक सहयोगमा रु पाँच करोड लागतमा निर्माण गरिएको दिवा सेवाकेन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो। भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको स्मृतिमा चार रोपनी जग्गा प्रदान गरेका थिए।

































