
पोखरा, १४ पुस। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि साधारणतया बदली रही अन्य स्थानमा मौसम मुख्यतः सफा देखिएको छ।
महाशाखाका अनुसार आगामी २४ घन्टाभित्र कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै, सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा पनि एक-दुई स्थानमा हिमपात हुन सक्नेछ।
देशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात र हवाई उड्डयन क्षेत्रमा आंशिक असर पर्न सक्ने सम्भावना छ।
बिहानको समयमा तराईका समथर भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। कुहिरोका कारण सडक र हवाई यातायातमा प्रभाव पर्ने भएकाले सावधानी अपनाउनु आवश्यक रहेको महाशाखाले उल्लेख गरेको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अहिलेको मौसम परिवर्तन देखिएको हो। महाशाखाले उच्च हिमाली क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन सल्लाह दिएको छ। साथै, हिमपात र वर्षाले प्रभावित हुने क्षेत्रका नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।



























