काठमाडौं, १५ पुस । नेपाल सरकारले अध्यागमन प्रक्रियालाई आधुनिक बनाउँदै ‘एडभान्स प्यासेन्जर इन्फर्मेशन सिस्टम (एपीस)’ लागू गर्ने सम्भाव्यताबारे अध्ययन अघि बढाएको छ। अध्यागमन विभागले यात्रीहरूको व्यक्तिगत विवरण विद्युतीय माध्यमबाट यात्रा अघि नै प्राप्त गर्न सक्ने यो प्रणाली लागू गर्न कार्यदल गठन गरेको छ।

अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालका अनुसार यो प्रणालीले आतङ्कवादी गतिविधि र सीमापार अपराध नियन्त्रणमा मद्दत पुर्‍याउनेछ। हालको पद्धतिमा यात्रुहरू विमानस्थल आइपुगेपछि मात्र कागजी विवरणहरूको आधारमा सूचना सङ्कलन गरिन्छ। तर, एपीस लागू भएपछि यात्रुहरूको नाम, लिङ्ग, राहदानी नम्बर, राष्ट्रियता, र जन्ममिति जस्ता जानकारी विद्युतीय माध्यमबाट प्राप्त हुनेछ। यसले यात्रुहरू नेपाल आउनु अघि नै आवश्यक छानबिन गर्न सजिलो बनाउने बताइएको छ।

कार्यदलका संयोजक अनुप न्यौपानेका अनुसार यो प्रणालीले यात्रुहरूको आगमनलाई सहज बनाउनुका साथै शङ्कास्पद व्यक्तिहरूबारे सुराक उपलब्ध गराउन सक्षम हुनेछ। नेपाल जस्तो अन अराइभल भिसा प्रदान गर्ने देशमा यो प्रणाली थप प्रभावकारी हुने विज्ञहरूको दाबी छ।

पूर्व नेपाल प्रहरी अधिकारी बमबहादुर भण्डारीका अनुसार एपीसले हवाई यात्रामा हुने गैरकानुनी आप्रवासन र आपराधिक गतिविधिमा समेत रोक लगाउन सहयोग पुर्‍याउँछ। विकसित देशहरूले सीमा सुरक्षाका लागि यस्तो प्रणाली पहिले नै अवलम्बन गरेका छन्। नेपालले पनि अध्यागमन प्रक्रियामा नयाँ उचाइ हासिल गर्न यो प्रविधि अपनाउनुपर्ने उनी बताउँछन्।

प्रणाली लागू गर्नका लागि हवाई सेवा कम्पनीहरूसँग सहकार्य आवश्यक हुने अध्यागमन विभागले जनाएको छ। विभागका अनुसार बजेट व्यवस्थापन भइसकेको र लागत आकलनका लागि कार्यदलले काम गरिरहेको छ।

एपीस लागू भएपछि अध्यागमन प्रक्रियामा तीव्रता आउने र यात्रुहरूको विवरण गन्तव्य देशहरूलाई पनि सहजै उपलब्ध गराउन सकिनेछ। यो प्रणालीले नेपालबाट बाहिरिने र नेपाल आउने यात्रुहरूको निगरानी थप प्रभावकारी बनाउँदै अध्यागमन सेवा सुधारमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0