जुम्ला, १४ पुस। जुम्ला खलंगा स्थित दियालो बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका नागरिक आफ्नो रकम नपाउँदा आन्दोलनमा उत्रिएका छन्। सहकारीले समयमा रकम फिर्ता नगरेपछि बचतकर्ताहरूले संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेका छन्। सहकारीले बारम्बार आश्वासन मात्र दिएर रकम फिर्ता नगरेपछि उनीहरू निराश भएका छन्।
दियालो सहकारीका बचतकर्ता संघर्ष समितिका अध्यक्ष धर्मनन्द धितालले पत्रकार सम्मेलनमार्फत सहकारीका व्यवस्थापक र अध्यक्षले बचतकर्ताको समस्या बेवास्ता गरेको आरोप लगाए। व्यवस्थापक दीपक शाह महिनौंदेखि जिल्ला बाहिर छन् भने सहकारीका अध्यक्ष टेकबहादुर शाही भारतको कोलकातामा रहेको जनाइएको छ।
चन्दननाथ नगरपालिका–४ की टोमा छिरिङ लामाले सहकारीमा १२ लाख बचत गरेको तर अहिले सो रकम फिर्ता नपाएको गुनासो गरिन्। उनले सहकारीले १४ प्रतिशत ब्याज दिने भन्दै बारम्बार प्रलोभन देखाएर रकम जम्मा गर्न लगाएको तर अहिले सहकारीका कर्मचारी फोनसमेत नउठाउने गरेको बताइन्।
यस्तै, पातारासी गाउँपालिका–१ का दत्तबहादुर बुढाले सहकारीमा जम्मा गरेको १० लाखमध्ये १ लाख मात्र फिर्ता पाएको बताए। उनले सिजन अनुसार हुने जडिबुटी व्यापार रकम नपाउँदा ठप्प भएको जनाउँदै परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको सुनाए।
दियालो सहकारीका व्यवस्थापक दीपक शाहले चैतसम्म सबैको बचत फिर्ता गरिने दाबी गरेका छन्। सहकारीको २८ करोड ऋण उठाउन बाँकी रहेको र १८ करोड बचत फिर्ता गर्नुपर्ने उनले जानकारी दिए। तर, बारम्बार आश्वासन दिएर पनि कार्यान्वयन नगर्ने प्रवृत्तिले बचतकर्ता आशंकित भएका छन्।
बचतकर्ताहरूले न्यायको माग गर्दै निरन्तर आन्दोलन जारी राख्ने बताएका छन्। सहकारीका असंवेदनशील व्यवहारले उनीहरूलाई थप पीडित बनाएको छ।

































