काठमाडौं । असोज १० र ११ गते देशका विभिन्न स्थानमा आएको बाढीपहिरोले १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको छ। उक्त क्षतिको बीमा दाबी ३ हजार ६७६ वटा दाबी गरिए पनि बीमा कम्पनीहरूले हालसम्म जम्मा १ हजार ७२० वटा मात्र दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार बिहीबारसम्ममा बीमा दाबीको ९.६७ प्रतिशत मात्र भुक्तानी गरिएको छ।
सर्वाधिक दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। सो कम्पनीमा ५११ वटा दाबी गरिएका छन्, जसमध्ये २४७ वटाको भुक्तानी भएको छ। सो कम्पनीमा कुल २ अर्ब ६३ करोडको दाबी परेकामा ३० करोड ३५ लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको छ। शिखर इन्स्योरेन्सले भने सबैभन्दा धेरै दाबी सल्टाएको देखिएको छ। यस कम्पनीमा ४५८ वटा दाबी परेकोमा ४१५ वटा दाबी भुक्तानी गरिसकेको छ।
नेपाल बीमा प्राधिकरणले बाढीपहिरोमा सम्पत्ति बीमाका रूपमा सर्वाधिक ९ अर्ब २४ करोड ५८ लाख रुपैयाँको दाबी परेको जनाएको छ। यद्यपि, भुक्तानी रकम १ अर्ब ११ करोड ५८ लाख रुपैयाँमा सीमित छ। मोटर बीमामा ९५४ वटा दाबी परेका थिए, जसमध्ये ५३१ वटाको भुक्तानी गरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै क्षति भएको छ। यहाँ ३ हजार २ सय ९ वटा दाबी गरिए पनि १ हजार ५ सय ९ वटा मात्र सल्टाइएको छ। बागमतीमा ११ अर्ब २७ करोड ५५ लाख रुपैयाँको दाबी परेकोमा १ अर्ब ३९ करोड ८० लाख रुपैयाँ मात्र भुक्तानी भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा भने दाबी भुक्तानीको अवस्था झन् न्यून छ।
बीमा कम्पनीहरूको विवरण अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २० करोड ४३ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्सले १३ करोड ६३ लाख, र नेको इन्स्योरेन्सले १० करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेका छन्। साना दाबीहरूको सन्दर्भमा पनि सुस्तता देखिएको छ। उदाहरणका लागि, माइक्रो इन्स्योरेन्समा थोरै संख्यामा दाबी गरिए पनि धेरैजसो अझै समाधान हुन बाँकी छ।
बाढीपहिरोको क्षतिपछि बीमा कम्पनीहरूले दाबी समाधानमा देखाएको सुस्तताले पीडितहरूको थप पीडा बढाएको छ। नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी प्रक्रिया छिटो सम्पन्न गर्न निर्देशन दिएको भए पनि कार्यान्वयनको गतिमा सुधार भएको देखिएको छैन।





























