काठमाडौं, १७ पुस। पछिल्ला केही वर्षयता नेपाली विद्यार्थीको विदेश जाने प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) शाखाको तथ्यांकले यो प्रवृत्तिलाई उजागर गरेको छ। नेपालमा उच्च शिक्षा अध्ययन गर्ने अवसर हुँदाहुँदै पनि विद्यार्थी विदेशमा अवसरको खोजीमा बिदेसिन थालेका छन्।

शाखाका प्रमुख रमेश घिमिरेका अनुसार पछिल्लो चार वर्षमा तीन लाख ३८ हजार ९७४ जना विद्यार्थीले एनओसी लिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा मात्र एक लाख १२ हजार पाँच सय ९३ जनाले एनओसी लिएका छन्, जुन संख्या अघिल्लो वर्षको तुलनामा धेरै हो। यो तथ्यांकले विद्यार्थीमा विदेश मोह तीव्र रूपमा बढ्दै गएको देखाउँछ।

विद्यार्थीहरू पहिले नेपालमा उपलब्ध नहुने विषय पढ्न विदेश जाने गर्थे भने अहिले नेपालमै पढाइने विषय पनि विदेशमै अध्ययन गर्न रुचाउँछन्। एनओसी शाखाका अनुसार कक्षा १२ पास गरेका विद्यार्थीको ठूलो हिस्सा अध्ययनसँगै विदेशमा अवसर खोज्दै बिदेसिन्छन्। शिक्षा मन्त्रालयका दर्ता भएका विदेशी कलेजले नेपालमै शिक्षा प्रदान गरिरहेका भए पनि विद्यार्थीहरूमा विदेश मोह घट्न सकेको छैन।

पछिल्ला तथ्यांकअनुसार, २०८०/८१ मा सबैभन्दा धेरै विद्यार्थी जापान (३४,७३१ जना) गए। त्यसपछि क्यानाडा (१५,९८२), अस्ट्रेलिया (१४,३७२), बेलायत (१३,३३९), अमेरिका (११,२६१) र कोरिया (६,८८९) विद्यार्थीको रोजाइमा परेका छन्। यसअघि पनि अस्ट्रेलिया, जापान र क्यानाडा विदेशी अध्ययनका लागि प्रमुख गन्तव्य रहँदै आएका छन्।

विद्यार्थीहरूले प्रायः व्यवस्थापन, सूचना प्रविधि, मेडिकल साइन्स, नर्सिङ, मानविकी, कानुन, र इन्जिनियरिङ जस्ता विषय अध्ययन गर्न एनओसी लिने गरेका छन्। एनओसी शाखाका प्रमुख घिमिरेले विदेश अध्ययनमा गएका विद्यार्थीको अवस्थाबारे अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याए। “कतिले अवसर पाए, कतिले नेपाल फर्किए, कति उतै बसे भन्ने विषयमा राज्यले खोजी गर्नुपर्छ,” उनले भने।

विद्यार्थीको बिदेसिने प्रवृत्तिमा आर्थिक पक्ष पनि ठूलो कारण बनेको छ। कमजोर आर्थिक अवस्था भएका परिवारका विद्यार्थीले पनि अवसरको खोजीमा आफ्नो जायजेथा बेचेर विदेश जाने गरेको पाइन्छ। यो प्रवृत्ति शिक्षा प्रणालीको प्रभावकारिता र रोजगारीको सम्भावनाबारे गम्भीर प्रश्न उठाउँछ।

विद्यार्थीहरूको विदेश मोह बढ्नुको मुख्य कारण उच्च शिक्षा अध्ययनसँगै रोजगारको अवसर रहेको छ। विदेशमा पढ्ने क्रममा विद्यार्थीहरूले अध्ययनसँगै काम गर्ने अवसर पाउँछन्, जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0