बीबीसीका अनुसार, अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई)ले भर्जिनियाको एक फार्ममा छापा मार्दै १५० भन्दा बढी बम बरामद गरेको छ। यो संख्यालाई एफबीआईको इतिहासमा एकैचोटि बरामद गरिएका बमहरूको सबैभन्दा ठूलो संख्या मानिएको छ।

डिसेम्बर १७ मा ३९ वर्षीय ब्राड स्पाफर्डलाई वासिङ्टन डीसीबाट २९० किलोमिटर दक्षिणमा रहेको आइल अफ वाइट काउन्टीस्थित उनको फार्मबाट गिरफ्तार गरिएको थियो। उनीमाथि घरमै हतियार र विष्फोटक सामग्री संकलन गरेको आरोप लागेको छ। फार्ममा उनकी पत्नी र दुई साना बालबालिका पनि बस्ने गरेका थिए।

एफबीआईको प्रारम्भिक अनुसन्धानअनुसार बमहरू प्रायः पाइप बम प्रकारका थिए। तीमध्ये केही बम घरभित्र, केही अलग्गै रहेको ग्यारेजमा, र केही हतियारको बडिलामा राखिएका थिए। ती विष्फोटकहरूलाई रंगअनुसार छुट्याइएको अवस्थामा भेटिएको थियो।

अदालतका कागजातअनुसार, ब्राड स्पाफर्डले २०२१ मा एक घरेलु विष्फोटक तयार पार्ने क्रममा आफ्नो तीन औँला गुमाएका थिए। उनका छिमेकी, जो पहिला प्रहरीमा कार्यरत थिए, एफबीआईलाई उनीमाथि निगरानी राख्न सहयोग गरेका थिए। ती छिमेकीले स्पाफर्डसँगको कुराकानी र उनको गतिविधिलाई गोप्य रूपमा रेकर्ड गरेका थिए।

बरामद बमहरूमध्ये केही “घातक” भनेर लेबल गरिएको थियो भने एक जारमा राखिएको एचएमटीडी नामक अत्यन्त खतरनाक र अस्थिर विष्फोटक फेला परेको थियो। त्यो जार फ्रिजमा बालबालिकाहरूको पहुँचमा रहेको खानासँगै राखिएको थियो।

ब्राड स्पाफर्डमाथि हालसम्म अवैध हतियार राखेको आरोप मात्र लगाइएको छ, तर थप आरोपहरू लाग्ने सम्भावना रहेको छ। एफबीआईले उनको गतिविधि र योजना गम्भीर खालका रहेको र यसले स्थानीय समुदायमा ठूलो खतराको संकेत गर्ने बताएको छ।

उनका वकिलले भने उनलाई खतरनाक व्यक्ति भन्नु अड्कलबाजी मात्र भएको र कुनै पनि आपराधिक गतिविधिमा उनको संलग्नता नभएको दाबी गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0