पोखरा, १९ पुस । २०२४ साल विश्व इतिहासमा अनेक घटनाक्रमका लागि स्मरणीय रहनेछ। यो वर्षले केही उदाहरणीय कार्यहरूको थालनी गरेको छ भने कतिपय अप्रिय घटनाले ती कार्यहरूलाई इतिहासको पानामा सीमित पारेको छ। यस वर्ष विश्वले केही यस्ता विशिष्ट व्यक्तित्वहरूलाई गुमायो जसको योगदान विभिन्न क्षेत्रमा अतुलनीय थियो।

अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टर एक शताब्दी लामो जीवन यात्रापछि डिसेम्बर ३० मा बिदा हुनुभयो। वाटरगेट काण्ड र भियतनाम युद्धको जटिल परिस्थितिमा राष्ट्रपति बनेका कार्टरले ह्वाइट हाउस कार्यकालपश्चात् आफ्नो जीवनलाई विश्वव्यापी मानव सेवामा समर्पित गर्नुभयो। सबैभन्दा लामो समयसम्म जीवित अमेरिकी राष्ट्रपतिको रूपमा परिचित कार्टरको जर्जियास्थित निवासमा निधन भयो। कार्टर सेन्टरका संस्थापक कार्टरले रोग उन्मूलन, शान्ति स्थापना, मानव अधिकारको प्रवर्द्धन, निष्पक्ष निर्वाचनको वकालत र घरबारविहीनहरूको सहयोगमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। राष्ट्रपति जो बाइडेनले कार्टरको निधनले विश्वले एक असाधारण नेता गुमाएको बताएका छन्।

पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सेप्टेम्बर २१ मा क्यान्सरसँगको लामो संघर्षपछि दिवंगत हुनुभयो। मानव अधिकार हनन र भ्रष्टाचारको आरोप खेपेका फुजिमोरीले १९९० देखि २००० सम्म पेरुको नेतृत्व गरेका थिए। उनको कार्यकालमा वामपन्थी गुरिल्ला विद्रोहविरुद्ध कडा कदम चालिएको थियो, जसलाई कतिपयले मानव अधिकार उल्लंघनको रूपमा व्याख्या गरे पनि विद्रोहीको बढ्दो प्रभावलाई उनले रोकेको तर्क गर्नेहरू पनि छन्।

रुसी प्रतिपक्षी नेता एलेक्सी नभाल्नी फेब्रुअरी १८ मा जेलभित्रै मृत अवस्थामा भेटिए। रुसी राष्ट्रपतिका कट्टर आलोचक नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो, जसलाई धेरैले राजनीतिक प्रतिशोधको रूपमा हेरेका थिए। नभाल्नीलाई २०२० मा नोविचोक नामक विष प्रयोग गरी हत्या प्रयास गरिएको थियो। उनको मृत्युले रुसमा राजनीतिक सरगर्मी बढाएको छ।

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह डिसेम्बर २६ मा ९२ वर्षको उमेरमा नयाँदिल्लीमा निधन भयो। २००४ देखि २०१४ सम्म प्रधानमन्त्री रहेका सिंहले भारतको आर्थिक सुधारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। १९९१ मा वित्तमन्त्री हुँदा उनले गरेको आर्थिक उदारीकरणको नीतिले भारतीय अर्थतन्त्रलाई नयाँ दिशा दिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको योगदानको स्मरण गर्दै उनीसँगको सहकार्यमा विवेक र नम्रताको अनुभव गरेको बताएका थिए।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी सेप्टेम्बर १२ मा ७२ वर्षको उमेरमा निधन भयो। विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय यचुरीले आपत्कालीन अवस्थामा नागरिक अधिकार र वामपन्थी विचारधाराको पक्षमा सशक्त भूमिका निर्वाह गरेका थिए।

पूर्व विदेशमन्त्री तथा वरिष्ठ कांग्रेस नेता नटवर सिंह ९३ वर्षको उमेरमा बिदा हुनुभयो। भारतीय विदेश सेवाबाट आफ्नो करियर सुरु गरेका सिंहले राजनीति र कूटनीतिमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए।

भारतीय उद्योगपति तथा समाजसेवी रतन टाटा अक्टोबर ९ मा ८६ वर्षको उमेरमा बिदा हुनुभयो। टाटा समूहलाई विश्वव्यापी पहिचान दिलाउन उनको महत्त्वपूर्ण भूमिका थियो। उनको नेतृत्वमा टाटा कम्पनीले धेरै अन्तर्राष्ट्रिय कम्पनीहरूलाई अधिग्रहण गरेको थियो।

यस वर्ष भारतीय संगीत क्षेत्रले पनि ठूलो क्षति बेहोर्नुपर्यो। संगीतकार उस्ताद राशिद खान, गजल गायक पंकज उदास र तबला वादक जाकिर हुसेनको निधनले भारतीय संगीत जगतलाई अपूरणीय क्षति पुगेको छ।

इरानका राष्ट्रपति इब्राहिम रायसी मे १९ मा हेलिकोप्टर दुर्घटनामा परी निधन भयो। कट्टरपन्थी नेताको रूपमा चिनिने रायसीलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको उत्तराधिकारीको रूपमा हेरिएको थियो। सोही दुर्घटनामा इरानका विदेशमन्त्री होसेन अमिराबडोल्लाहियनको पनि निधन भएको थियो।

टर्कीका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेन अक्टोबर २० मा अमेरिकामा निधन भयो। गुलेनमाथि २०१६ मा टर्कीएमा भएको असफल कू को योजनाकार भएको आरोप लागेको थियो।

हमास नेता इस्माइल हानिया जुलाई ३१ मा इरानमा मारिए। प्यालेस्टिनी लडाकू समूह हमास र इरानले इजरायलले उनलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।

लेबनानको सशस्त्र शिया संगठन हिजबुल्लाहका नेता हसन नसरल्लाह सेप्टेम्बर २७ मा इजरायली हवाई आक्रमणमा मारिए।

गाजामा भएको इजरायली आक्रमणमा हमासका राजनीतिक प्रमुख याह्या सिनवार अक्टोबर १६ मा मारिए। उनी अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणका योजनाकार थिए।

२०२४ साल विश्वले गुमाएका यी विशिष्ट व्यक्तित्वहरूको सम्झनामा सधैँ जीवित रहनेछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0