काठमाडौं, पुस १९ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ माओवादी केन्द्रमा सक्रिय राजनीतिमा फर्किएका छन्। यससँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा फर्किने चर्चा सुरु भएको छ। एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेकी छन्। उनलाई पार्टी अध्यक्ष बनाएर विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने रणनीति शीर्ष नेताहरूबीच बनेको बताइएको छ।

माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकमा सहभागी भएका पुनलाई पार्टीले उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको छ। उनी पछिल्लो समय आमन्त्रित सदस्यको रूपमा बैठकमा सहभागी हुँदै आएका थिए। पुनजस्तै भण्डारी पनि भातृ संगठनका कार्यक्रममा सहभागी हुँदै आएकी छन्। एमालेभित्रका नेताहरूले उनलाई सक्रिय राजनीतिमा आउन दबाब दिइरहेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट पुन पछिल्लो समय राजनीतिक गतिविधिमा सक्रिय भएका हुन्। आगामी पुस २१ गते बस्ने केन्द्रीय कमिटी बैठकले पुनलाई जिम्मेवारी दिने बताइएको छ। उनलाई उपाध्यक्ष वा उपमहासचिवको जिम्मेवारी दिने विषयमा छलफल भइरहेको छ। लुम्बिनी प्रदेशका पूर्वप्रमुख अमिक शेरचनलाई पनि पार्टीको जिम्मेवारीमा फर्काउनेबारे कुराकानी चलेको छ। यसअघि माओवादीले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष र प्रवक्ताको जिम्मेवारी दिइसकेको छ।

यसैगरी माओवादी केन्द्रले पार्टीका सबै केन्द्रीय सदस्यसँग सम्पत्ति विवरण माग गर्ने भएको छ। अध्यक्ष प्रचण्डले पुस २१ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि तयार पारिरहेको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरेका हुन्। उनले नेताहरूको जीवनशैली बदलिएकोप्रति आम नागरिकमा निराशा छाएको भन्दै केन्द्रीय सदस्यहरूले आफ्नो आम्दानी र स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्ताव गरेका छन्। माओवादी केन्द्रमा ४०७ जना केन्द्रीय सदस्य छन्। अध्यक्ष प्रचण्डले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरी कम्तीमा ६ महिना जनताका बीचमा रहने गरी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। प्रवक्ता सापकोटाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै तानाशाही शासन चलाएको आरोप लगाएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0