पोखरा, पुस १९ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-नौबिसे-नागढुंगा सडकखण्डको बुधबार निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनी र मन्त्रालयका नियमनकारी निकायलाई निर्देशन दिएका छन्। मन्त्री दाहालले मुग्लिन-नौबिसे-नागढुंगा खण्डअन्तर्गत मलेखु-नौबिसे र मुग्लिन-मलेखु खण्डको स्थलगत अवलोकन गरेका हुन्।
उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनको रूपमा रहेको यो सडक निर्माणमा भइरहेको ढिलासुस्तीले नागरिकलाई समस्या परेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिए। निर्माणका क्रममा कुनै समस्या आए मन्त्रालयले समन्वय र नेतृत्व गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अब पनि निर्माण कार्य सुस्त भए स्वीकार्य नहुने चेतावनी दिए।
मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रूपमा मन्त्रालयमा लक्ष्य र प्रगति पेस गर्न निर्माण कम्पनी र आयोजना प्रमुखलाई निर्देशन दिए। कुनै पनि बहाना र कारणले निर्माणमा ढिलासुस्ती नगर्न उनले आग्रह गरे। सडक विभागका महानिर्देशक रामहरि पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब निर्माण कम्पनीले परिणाम देखाउनुपर्ने बताए। निर्माण कम्पनीका प्रतिनिधिहरूले यसअघि निर्माण सामग्री जुटाउन देखिएको समस्या मन्त्रीकै पहलमा समाधान भएको र अब मासिक लक्ष्य निर्धारण गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।




























