पोखरा, पुस २२ – युनाइटेड क्लब पोखराद्वारा आयोजित पोखरा महोत्सवको तेह्रौं संस्करणको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। आगामी पुस २५ देखि माघ ७ गतेसम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुने महोत्सवले यसपटक युनाइटेड छात्राबास निर्माणलाई मुख्य उद्देश्य बनाएको छ। क्लबले पोखरा २७, अर्चलेमा विपन्न परिवारका बालबालिकाका लागि छात्राबास निर्माणको थालनी गरिसकेको छ, जसलाई भविष्यमा विद्यालयको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
महोत्सवले शिक्षासँगै स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रलाई पनि निरन्तरता दिनेछ। यसअघिका संस्करणहरूमा क्लबले छात्रवृत्ति अक्षयकोष स्थापना, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, खेलकुद प्रतियोगिता आयोजना र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको छ। क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलका अनुसार पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहल गण्डकी प्रदेश सरकारको गौरवको योजनामा समावेश भई कार्यान्वयनको चरणमा छ। निवर्तमान अध्यक्ष राजु श्रेष्ठले सेती नदी संरक्षणमा महानगरसँग सहकार्य गर्ने योजना रहेको जानकारी दिए।
महोत्सवमा २५० स्टल रहनेछन्, जुन पूर्ण रूपमा बुकिङ भइसकेका छन्। आयोजकले २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरेको छ। महोत्सवबाट १ करोड ५१ लाख ७५ हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खर्च हुने प्रक्षेपण गरिएको छ, जसबाट २८ लाख १५ हजार बचत गर्ने लक्ष्य छ।
महोत्सवमा विभिन्न जातजाति र भेगका कला, संस्कृति र भेषभूषाको प्रदर्शनी, औद्योगिक र हस्तकलाका वस्तुहरूको प्रदर्शनी तथा बिक्री, सूचना प्रविधिको जानकारी, व्यावसायिक संस्थाहरूको सेवा जानकारी, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय उपभोग्य वस्तुहरूको प्रदर्शनी तथा बिक्री, पर्यटन प्रवर्द्धन सामग्रीहरूको प्रदर्शनी र जानकारी, पोखरा लगायतका पर्यटकीय स्थलहरूको जानकारी, सामाजिक संस्थाहरूको परिचय र जानकारी, नेपाली संस्कृति झल्काउने नृत्य प्रस्तुति, विद्यालय स्तरीय सामूहिक लोकनृत्य प्रतियोगिता र कृषि गतिविधिहरू समावेश हुनेछन्।
महोत्सवमा बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, ज्योती मगर, प्रकाश दुतराज, रचना रिमाल, शान्ति श्री परियार, श्याम राना, अस्मिता अधिकारी, राजु परियार, सम्झना लामिछाने मगर, शान्तिरानी परियार, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायतका लोकदोहोरी कलाकारहरूका साथै भीटेन, लाहुरे, उर्गेन, फिरन्ते, रकहेड्स, पूर्ण राई एण्ड दाजुभाई, जेमसी लगायतका कलाकारहरूको लाइभ कन्सर्ट रहनेछ। हास्यव्यङ्ग्यतर्फ म्याकुरी, दीपक थापा, पोखरेली धुर्मुस र माग्ने बुढाको प्रस्तुति रहनेछ।
महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, सहप्रायोजक बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड रहेका छन् भने अन्य प्रायोजक र सहयोगी संस्थाहरू पनि जोडिएका छन्। नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवर्द्धक रहेको छ।

































