म्याग्दी, पुस २३ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा पुस २८ देखि माघ ८ गतेसम्म बेनीमा आठौं म्याग्दी महोत्सव आयोजना हुने भएको छ। प्राचीन रेशमी उपमार्ग र साल्ट ट्रेड रुटको रूपमा परिचित कालीगण्डकी करिडोरको व्यापारिक केन्द्र बेनीको महत्त्व उजागर गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला-२०८१ तथा म्याग्दी महोत्सव’ आयोजना गर्न लागिएको हो। यद्यपि, स्थानीय व्यवसायीहरूले यसको विरोध जनाएका छन्।
महोत्सवको तयारी तीव्र पारिएको छ। आयोजकका अनुसार महोत्सवमा औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, खेलकुद प्रतियोगिताहरू (पुरुष–महिला भलिबल, बास्केटबल), विभिन्न कलाकारहरूको प्रस्तुति, पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल, एकल लोकनृत्य, जनजातिका झाँकी प्रदर्शन गरिनेछ। अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताका विजेतालाई १ लाख ५१ हजार र उपविजेतालाई ७५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। लोक दोहोरी गीत प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः १ लाख १ सय र ६१ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन्।
संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार महोत्सवमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने र १ करोड २९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवबाट भएको आम्दानीबाट व्यवसायी हितकोषमा १० लाख, विपद् राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने र टिकट बिक्रीबाट उठेको रकमको केही हिस्सा सामाजिक संघसंस्थालाई सहयोग गरिने योजना छ।
यसअघि २०५८ देखि २०७८ सम्म सात पटक म्याग्दी महोत्सव आयोजना भइसकेको छ। परापूर्वकालदेखि माघे सङ्क्रान्तिको अवसरमा बेनी बजारमा मेला लाग्ने परम्परा छ। यसपटकको महोत्सवले म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण गर्न, प्रतिभा पहिचान र खेलकुदलाई प्रवर्द्धन गर्न सघाउने अपेक्षा गरिएको छ।
तर, स्थानीय फेन्सी र भाँडा व्यवसायीहरूले महोत्सवको विरोध गरेका छन्। उनीहरूका अनुसार १० दिनसम्म चल्ने महोत्सवले व्यापार घट्ने, हिंसात्मक घटना बढ्ने, अहिलेसम्मका महोत्सवहरूले औचित्य पुष्टि नगरेको र राति अबेरसम्म होहल्ला हुने गरेको छ। उनीहरूले रात्रिकालीन महोत्सवले सांस्कृतिक विचलन ल्याएको आरोप लगाएका छन्।
यस महोत्सवले प्राचीन रेशमी मार्ग र साल्ट ट्रेड रुटको फेरिएको महत्त्वमा छलफल गर्ने, बेनी–जोमसोम–कोरला सडक मार्ग निर्माण र चीनसँगको बीआरआई सम्झौताबाट कालीगण्डकी करिडोरमा लिन सकिने फाइदाबारे जानकारी गराउने लक्ष्य राखेको छ।





























