पोखरा, २५ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा संलग्न आरोपितहरूमाथि जवाफी बहस सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको थुनछेक बहस जारी रहेको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभएको छ।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि थुनछेक बहस भइरहेको छ। प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज जाहेरवालाका कानुन व्यवसायीले जवाफी बहस गरेका छन्। सरकारी वकिलले पनि आज आफ्नो जवाफी बहस गर्ने जनाइएको छ।

लामिछानेसहित सहकारीको रकम अपचलन प्रकरणमा जोडिएका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस जारी छ। अदालतले बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गरेर अनुसन्धान अघि बढाउने आदेश दिनेछ।

सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि लगाइएको छ। सरकारी वकिल कार्यालयले सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ, जसमा १९ जनालाई सङ्गठित अपराधका अभियोग पनि लगाइएको छ।

लामिछानेसहित खनाल, जोशी, र पछाईँमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा पनि परेको छ। सरकारी वकिल कार्यालयका अनुसार सहकारीको बचत रकम अपचलनबाट ठूलो आर्थिक क्षति पुगेको र यसमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गरिनुपर्ने माग गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0