पोखरा, २६ पुस। सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीले ८८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो।

जोशीसँगै गोर्खा मिडिया नेट्वर्कका साझेदार एवम् तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न भनिएको छ। लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।

पूर्वडीआईजी जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्तिको आरोप लागेको छ। यो मुद्दामा सरकारी वकिलको कार्यालयले रवि लामिछाने र छविलाल जोशीसहित फरार रहेका जीबी राईको सम्पत्ति जफत गर्न माग गरेको छ।

जोशीलाई गत असोज ६ गते र लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो। लामिछानेलाई पक्राउ गरेको ९१औँ दिनमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। सरकारी वकिलको कार्यालयले उनीहरूमाथि सहकारीका निक्षेपकर्ताको रकम हिनामिना गरी ठगी गरेको र सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर अपराधमा संलग्न भएको आरोप लगाएको छ।

यो मुद्दाले सहकारी संस्थाको पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँदै बचतकर्ता तथा लगानीकर्ताबीच ठूलो चिन्ता र असन्तोष उत्पन्न गराएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0