पोखरा, २८ पुस। नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरद्वारा आयोजित ग्लोबल आईएमई बैंक प्रस्तुत एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० सम्पन्न भएको छ। नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टतालाई सम्मान गर्न आयोजित यो कार्यक्रम प्रतिष्ठित हयात रेजेन्सी होटलमा सम्पन्न भएको थियो। कार्यक्रममा १५० भन्दा बढी व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
यस वर्षको स्टार्टअप अवार्ड डीएल अपलोडले जित्दै रु. ४,००,००० नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता मेल्ट डाउनले रु. २,००,००० नगद पुरस्कार जित्यो भने खेतीपाती अर्गानिक्सले Audience Pick Award जित्दै रु. १,००,००० पुरस्कार प्राप्त गर्यो।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूले आर्थिक वृद्धि र नवप्रवर्तनमा खेल्ने महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे। प्रा. डा. शिवराज अधिकारीले स्टार्टअपलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता औँल्याए।
एनवाईईएफ काठमाडौँ च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाको नेतृत्वमा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा डीएल अपलोड, मेल्ट डाउन, खेतीपाती अर्गानिक्स, ज्ञान बजार, ई-कागजपत्र, माच२० अर्बिटल्स, र स्मार्टपालिकले अन्तिम प्रतिस्पर्धामा स्थान पाएका थिए।





























