पोखरा, २९ पुस। पुस १८ गतेदेखि लेखनाथमा जारी २०औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरूको उत्साहजनक सहभागितासँगै सफलतातर्फ अघि बढेको छ। एघारौं दिनसम्म दर्शकको उल्लासमय उपस्थिति र महोत्सवमा भएको उल्लेखनीय कारोबारले आयोजकलाई उत्साहित बनाएको छ। महोत्सव आयोजक समिति संयोजक विनोद श्रेष्ठका अनुसार स्थानीय उत्पादन तथा कृषि स्टलहरूप्रति दर्शकको चासो बढिरहेको छ।
सहसंयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सव सबै उमेरका दर्शकका लागि साझा मनोरञ्जनको मञ्च सावित भएको बताए। उनले दर्शकको माया र सहभागिताले आयोजकलाई थप ऊर्जा दिएको र महोत्सवको सफलतामा सरोकारवालाहरूको भूमिकालाई महत्वपूर्ण मानिएको उल्लेख गरे। प्रचार प्रसार उपसमिति संयोजक जानुका अधिकारीका अनुसार महोत्सवले निर्धारित आर्थिक लक्ष्य नजिक पुगिसकेको छ।
आईतबार मात्रै ३० हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए भने १ करोड १० लाख रुपैयाँबराबरको आर्थिक कारोबार भएको जनाइएको छ। अहिलेसम्म ६ करोड ९५ लाख रुपैयाँबराबरको कारोबार भइसकेको जानकारी दिँदै आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष ध्रुवबाबु भट्टराईले महोत्सवले उच्च सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
महोत्सवमा लोकदोहोरी कलाकार खुमन अधिकारी, प्रिती आले, र विक्रम परियारको प्रस्तुति र डिमर्चा ब्यान्डको सांगीतिक माहोलले दर्शकलाई मनोरञ्जन प्रदान गर्यो। सोमबार प्रमोद खरेलको परम्परा ब्यान्ड र सुजित एण्ड दि वारियर्स ब्यान्डको प्रस्तुति रहनेछ।

































