विराटनगर, ६ माघ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ। नेपाल प्रेस युनियन झापाद्वारा दोमुखामा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सुरुङ्गा नजिकै उक्त आक्रमण भएको हो।
प्राप्त जानकारीअनुसार, थापामाथि बा १ ञ १८७० नम्बरको गाडीमा सवार नेपाल विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए। घटना निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा भएको प्रहरीले जनाएको छ। आक्रमणबाट थापाको निधारमा चोट लागेको छ भने तत्काल बिर्तासिटी अस्पतालमा उपचार गरी उनी घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले घटनामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन्। सुरक्षा कारण देखाउँदै पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरिएको भए पनि कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए।
































