पोखरा, ६ माघ। इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयनमा आएको छ। शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई मन्त्रीको विरोधका बाबजुद युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि यो सहमति लागू भएको हो।

१५ महिना लामो हिंसात्मक द्वन्द्वपश्चात इजरायल र हमासबीच तीन चरणमा युद्धविरामको सम्झौता गरिने सहमति भएको थियो। यस क्रममा दुबै पक्षबाट बन्धकको रिहाइ हुनेछ। पहिलो चरणमा इजरायलले ७३७ प्यालेस्टिनी कैदीलाई रिहा गर्ने बताइएको छ। रिहा हुनेहरूमध्ये ६९ महिला, १६ पुरुष र १० नाबालिग रहेको इजरायली न्याय मन्त्रालयले जनाएको छ। यसको बदलामा हमासले ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ। युद्धविरामसँगै इजरायली सेना गाजाको ७ सय मिटर क्षेत्रबाट पछि हट्ने पनि योजना छ।

युद्धविरामको निगरानीका लागि इजिप्ट, अमेरिका, कतार र इजरायलका प्रतिनिधिहरूको संयुक्त समिति गठन गरिएको छ। यो समितिले सहमति उल्लंघन नगर्ने सुनिश्चित गर्ने जिम्मेवारी पाएको छ। लामो समयसम्म द्वन्द्वका कारण बन्धक बनेका आफ्ना प्रियजन छिट्टै मुक्त हुने खबरले परिवारजनहरू हर्षित र भावुक बनेका छन्। शनिबार इजरायलको राजधानी तेल अभिभमा महिलाहरूले आफ्ना आफन्तका लागि प्रार्थना गरेको दृश्यहरू देखिएका थिए।

सन् २०२३ को अक्टोबर ७ मा हमासले गाजा क्षेत्रबाट इजरायलमा आक्रमण गरेपछि यो द्वन्द्व सुरु भएको थियो। हमासले गरेको आक्रमणमा १० नेपालीसहित १ हजार २ सय मानिसको ज्यान गएको थियो भने नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएको थियो। युद्धविरामको क्रममा विपिन पनि रिहा हुने आशा नेपाल सरकारले व्यक्त गरेको छ।

द्वन्द्वका क्रममा गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा ४६ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। मानवीय संकट चुलिँदै गएपछि अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि पहल गरे पनि वार्ता बारम्बार असफल भएको थियो। अन्ततः सन् २०२५ जनवरी १५ मा दुवै पक्षले युद्धविराम गर्ने सहमति जनाएका हुन्।

युद्धका कारण गाजा क्षेत्र पूर्ण रूपमा तहसनहस भएको छ भने लाखौँ मानिस विस्थापित भएका छन्। राहत सामग्री पुर्‍याउन असहज परिस्थितिले मानवतावादी संकटलाई थप जटिल बनाएको छ। अब यो सम्झौता स्थिर शान्ति स्थापना गर्न कति प्रभावकारी हुन्छ भन्ने प्रतीक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0