पोखरा, ६ माघ। पछिल्लो समय घरजग्गाको कारोबारमा सुधार आउन थालेको देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत मङ्सिर महिनाको तुलनामा पुस महिनामा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। यसले घरजग्गा कारोबारले लय समात्न थालेको संकेत गर्दछ।

विभागका अनुसार मङ्सिर महिनामा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रुपैयाँ राजस्व संकलन भएको थियो भने पुस मसान्तसम्म आइपुग्दा यो आँकडा बढेर चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ रुपैयाँ पुगेको छ। पुस महिनामा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ रुपैयाँ संकलन भएको छ। त्यसैगरी, रजिस्ट्रेसन दस्तुरबाट दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५ रुपैयाँ र पुँजीगत लाभकरबाट एक अर्ब ६० करोड ८३ लाख २८ हजार एक सय ७२ रुपैयाँ संकलन भएको विभागले जनाएको छ।

काठमाडौं उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी राजस्व भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले संकलन गरेको छ। लगनखेल कार्यालयले मात्रै ४० करोड ९४ लाख ४२ हजार सात सय ३२ रुपैयाँ राजस्व संकलन गरेको छ। यसले ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको देखाउँछ। अन्य मालपोत कार्यालयहरुमध्ये गोटीखेल ललितपुरले दुई लाख ८९ हजार ८४ रुपैयाँ, भक्तपुरले २९ करोड ७६ लाख १३ हजार दुई सय ७१ रुपैयाँ, डिल्लीबजारले २१ करोड ९० लाख ९९ हजार छ सय ८५ रुपैयाँ राजस्व संकलन गरेका छन्।

त्यसैगरी, चाबहिल मालपोत कार्यालयले २२ करोड ९३ लाख ८० हजार तीन सय ६७ रुपैयाँ, कलंकीले २१ करोड ९३ लाख ७१ हजार सात सय ९२ रुपैयाँ, साँखुले १० करोड ३२ लाख ५९ हजार छ सय २२ रुपैयाँ, मनमैजुले छ करोड ६८ लाख २९ हजार पाँच सय ६१ रुपैयाँ र टोखा मालपोत कार्यालयले छ करोड ७७ लाख ३४ हजार छ सय ९७ रुपैयाँ राजस्व संकलन गरेका छन्। उपत्यका बाहिरका कार्यालयहरुमध्ये विराटनगरले १६ करोड ११ लाख तीन हजार चार सय ८१ रुपैयाँ र इनरुवा सुनसरीले १० करोड ९३ लाख ७४ हजार दुई सय ५७ रुपैयाँ राजस्व संकलन गरेका छन्। गत कात्तिक महिनामा भने देशभरबाट जम्मा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ रुपैयाँ मात्र राजस्व संकलन भएको थियो। पुसमा भएको राजस्व वृद्धिले घरजग्गा कारोबारमा सुधारको संकेत गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0