पोखरा, ७ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएका छन्। यससँगै अमेरिकाका टिकटक प्रयोगकर्ताहरूले पुनः सेवा उपयोग गर्न पाउने भएका छन्।
बीबीसीका अनुसार, ट्रम्पले कार्यकारी आदेशमार्फत टिकटकलाई अस्थायी राहत दिने घोषणा गरेका हुन्। यसअघि अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ताको पहुँच रोकिएको थियो।
आइतबार सामाजिक सञ्जालमार्फत टिकटकले सेवा पुनः सुरु हुने जानकारी गराएको थियो। टिकटकले अमेरिकी प्रशासनसँग सहकार्य गरी एपलाई सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ।
अमेरिकी संघीय अदालतले टिकटकको पेटेन्ट कम्पनी बाइटडान्सलाई आफ्नो सेयर बिक्री गर्न १९ जनवरीको समयसीमा दिएको थियो। आइतबार अधिकांश अमेरिकी प्रयोगकर्ताको मोबाइलमा टिकटकले काम गर्न छाडेको थियो। सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि नै टिकटकले एपलाई अस्थायी रूपमा अवरुद्ध गरेको थियो।
राष्ट्रपति ट्रम्पको आदेशपछि टिकटक सेवामा सहजता आएको छ। यस घटनाले टिकटक प्रयोगकर्ताहरूमा उत्साह थपेको देखिन्छ।




























