अछाम, १० माघ । नेकपा एमालेले पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा अछामका छ जना नेताहरूलाई कारबाही गरेको छ। पूर्वउपाध्यक्ष डा. भीम रावललाई समर्थन गर्दै ‘मातृभूमि जागरण अभियान’मा लागेका कारण ती नेताहरूमाथि कारबाही गरिएको हो।
जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले बुधबार जारी गरेको विज्ञप्तिमा पार्टीको विधानविपरीत क्रियाकलापमा संलग्न भएका कारण उनीहरूलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिइएको छ। कारबाहीमा पर्नेमा संगठन विभाग प्रमुख प्रकाश शाह, सचिवालय सदस्य सागरसिंह बाब्ली, बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर रहेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी र सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षविरुद्ध अशोभनीय नाराबाजी गरिएको, लोकतान्त्रिक मूल्य र मान्यताविपरीत गतिविधि गरिएको प्रमाणित भएकाले कारबाही गरिएको हो।’ यसअघि पनि ती नेताहरूलाई पार्टी विरोधी गतिविधि नगर्न चेतावनी दिइएको थियो। उनीहरूले लिखित रूपमा पार्टीप्रति प्रतिबद्धता जनाए पनि हाल पुनः पुरानै गतिविधि दोहोर्याएको भन्दै कारबाही अघि बढाइएको हो।
पूर्वउपाध्यक्ष डा. भीम रावलले सुरु गरेको अभियानले अछामसहित सुदूरपश्चिममा एमालेभित्र व्यापक असन्तुष्टि पैदा गरेको छ। गत पुस ११ गतेको सचिवालय बैठकबाट निष्कासित रावललाई समर्थन जनाउँदै अछामका १,१०० भन्दा बढी नेता-कार्यकर्ताले लिखित घोषणा गरिसकेका छन्। रावल समर्थकहरूका गतिविधिले एमालेलाई ठूलो धक्का पुर्याउने स्थानीय राजनीतिक विश्लेषकहरूको धारणा छ।
रावल नेतृत्वको अभियानले एमालेभित्र आन्तरिक विवाद चर्काउँदै सुदूरपश्चिममा नेतृत्वलाई चुनौती दिएको देखिन्छ। पार्टी नेतृत्वले अनुशासनको सवालमा कडा कदम चालेको भए पनि यसले संगठनलाई थप कमजोर बनाउने आशंका गरिएको छ।




























