पोखरा, १३ माघ । ‘कुष्ठरोगलाई हराउनुहोस्, कलंक अन्त्य गर्नुहोस्, र मानसिक स्वास्थ्यको लागि वकालत गर्नुहोस्’ भन्ने नाराका साथ आज देशभर ७२औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ। सन् १९५४ देखि जनवरी ३० तारिखमा विश्वभर यो दिवस कुष्ठरोगप्रति जनचेतना फैलाउन मनाउने परम्परा सुरु भएको हो।

नेपालमा पनि कुष्ठरोगविरुद्ध जागरुकता फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार यो रोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामक कीटाणुबाट लाग्छ। लामो समयसम्म उपचार नगरेका बिरामीसँग सम्पर्कमा आए श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्ने भएकाले समयमै उपचार गराउन महाशाखाले आग्रह गरेको छ।

नेपालमा वार्षिकरूपमा करिब २२ सय नयाँ कुष्ठरोगका बिरामी फेला पर्छन्। गत वर्ष मात्रै २५ सय २२ जनामा यो रोग देखिएको थियो। कुष्ठरोगलाई ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ गरी दुई प्रकारमा वर्गीकृत गरिएको छ। पौसिबेसिलरीमा पाँच वा सोभन्दा कम दाग देखा पर्ने भने मल्टिबेसिलरीमा पाँचभन्दा बढी दाग हुने चिकित्सकहरूले बताएका छन्।

विशेषतः चेतनाको अभावमा रोगका प्रारम्भिक लक्षण बेवास्ता गर्दा बिरामीको अवस्था गम्भीर बन्ने र कहिलेकाहीँ मृत्यु समेत हुने गरेको छ। चिकित्सकहरूका अनुसार रोगको सुरुवातमै उपचार गरे रोग अरूलाई नसर्ने र पूर्णरूपमा निको पार्न सकिन्छ।

कुष्ठरोग अत्यन्तै कम सर्ने रोग भए पनि यसबारे जनचेतना फैलाउँदै सामाजिक कलंकको अन्त्य गर्नु दिवस मनाउने मुख्य उद्देश्य हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0