पोखरा, १४ माघ । पोखरा ९ नयाँबजारमा जारी ३३औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा विभिन्न छुट र आकर्षक अफरका साथ प्रदर्शनी भइरहेको छ। आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार मेलामा १२औं क्यान इन्फोटेक र चौथो मोवाइल मेला समाहित गरिएको छ। मेलामा नेपाल टेलिकमको स्टलबाट नागरिकताको फोटोकपी र फोटो ल्याउनासाथ निःशुल्क सिमकार्ड वितरणको व्यवस्था गरिएको छ।

मेलामा सहभागी स्टलहरूबाट ल्यापटप र मोबाइल खरिद गर्दा ५० प्रतिशतसम्म छुट मिलेको छ भने सिसिटिभी क्यामेरा खरिदमा जडानसहित निःशुल्क सेवा, स्मार्ट बोर्ड खरिदमा किस्ताबन्दीको सुविधा र मोबाइल एक्स्चेन्ज अफरका साथ मर्मतमा पनि ५० प्रतिशत छुट दिइएको छ। मेलामा दैनिकी टिकटको माध्यमबाट १० जनालाई बन्दीपुर केबलकारको टिकट र ५ जनालाई मोबाइल फोन प्रदान गरिने जानकारी दिइएको छ।

संघका महासचिव शोभा गौतमका अनुसार मेलामा टिकटक बनाउने प्रतियोगिता समेत आयोजना गरिएको छ। यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन्। प्रतियोगिता भ्यूअर्सको आधारमा विजेताको चयन गर्ने व्यवस्था गरिएको छ।

आइटी महोत्सवअन्तर्गत सूचना प्रविधिसम्बन्धी विभिन्न परियोजना, नयाँ प्रविधि र रोबोटहरूको प्रदर्शनी गरिएको छ। यसका अतिरिक्त, विद्यार्थीहरूले दृष्टिविहीनहरूको लागि उपयोगी सेन्सरसहितको छडी र विद्युतीय गाडी पनि प्रदर्शित गरेका छन्। मेलामा परामर्शको व्यवस्था गरिएको छ जसले वैदेशिक पलायन रोक्नका लागि जनचेतना फैलाउने काम गरिरहेको छ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि सुरु भएको यस मेलामा नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ गण्डकी प्रदेश संरक्षकको भूमिका छ। मेलालाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेका छन्।

No description available.

मेलामा सहभागी अन्य सहकार्य गर्ने संस्थाहरूमा पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोबाइल वितरक संघ गण्डकी, सिएसआइटी एसोसियसन लगायतका संघसंस्था छन्। साथै, मेलामा विभिन्न वित्तीय संस्थाहरू र व्यवसायिक प्रतिष्ठानहरूको प्रायोजन छ।

मुख्य प्रायोजक बाल्ट्रा होम एप्लाइन्सेस, सहप्रायोजक समृद्धि स्टिल्स, लक्ष्मी इन्टरकन्टिनेण्टल, सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। थप रूपमा, मुक्तिनाथ विकास बैंकले मुलद्वार प्रायोजन गरेको छ भने कृषि विकास बैंक स्टेज प्रायोजक बनेको छ।

 

यस मेलामा वरिष्ठ लोकगायक प्रजापति पराजुलीसहित अन्य कलाकारहरूको प्रस्तुति रहेको थियो। आगामी दिनहरूमा चर्चित कलाकारहरूको प्रस्तुति र अन्य सांस्कृतिक गतिविधिहरूको आयोजना हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0