पोखरा, १५ माघ । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध पूरक अभियोग दर्ता गर्नका लागि चितवन प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ। यसअघि ४ माघमा बुझाइएको १४ प्रतिवादीसम्बन्धी प्रतिवेदन सरकारी वकिल कार्यालयले फिर्ता गर्दै थप कागजात माग गरेको थियो। सोही आधारमा पुनः तयार पारिएको प्रतिवेदनमा प्रगति श्रेष्ठको नाम थप गरी कुल १५ जनालाई प्रतिवादी बनाउन सुझाव दिइएको छ।
प्रहरीको पछिल्लो प्रतिवेदन अनुसार सहकारीको बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ अपचलन भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। त्यसमध्ये ४३ करोड रुपैयाँ ६ वटा कम्पनीमा लगानी गरिएको पाइए पनि बाँकी रकम कहाँ गयो भन्नेबारे विस्तृत अनुसन्धान अझै जारी छ। यसअघि ३७ करोड ६५ लाख रुपैयाँ अपचलन भएको ठहरसहित ८ भदौमा १७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। पूरक प्रतिवेदनले बिगो रकम थपिँदै ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको दाबी गर्नुपर्ने राय दिएको छ।
अनुसन्धानका क्रममा गोरखा मिडिया नेटवर्कसहितका कम्पनीमा ४३ करोड १४ लाख ९९ हजार रुपैयाँ गएकामा १० करोड ८० लाख रुपैयाँ मात्र गोरखा मिडियामा लगानी भएको पाइएको छ। संसदीय छानबिन समितिले समेत सहकारीको रकमलाई अवैध माध्यमबाट गोरखा मिडियामा लगानी गरिएको निष्कर्ष निकालेको थियो। त्यस्तै, अन्य रकम जीबी ग्रुप अफ कम्पनी, नेचर हब्र्स, स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालि र नेचर नेस्ट कम्पनीमा लगानी भएको प्रहरीले पत्ता लगाएको छ।
प्रहरीले लामिछानेसहितका प्रतिवादीहरूबाट ५ करोड ७९ लाख ८३ हजार रुपैयाँ दुरुपयोग भएको उल्लेख गर्दै मुलुकी फौजदारी संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको छ। यसका साथै, पूर्वडीआईजी छविलाल जोशी, जीबी ग्रुपका गितेन्द्रबाबु राई र रामबहादुर खनाल पनि प्रतिवादीमा परेका छन्।
सरकारी वकिल कार्यालयले प्रतिवेदनको अध्ययन सुरु गरेको छ। चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले १० दिनभित्र मुद्दा दर्ताको प्रक्रिया अघि बढाउने तयारी रहेको बताए। सहकारीको अपचलनमा मुछिएका प्रतिवादीहरूमाथि कानुनी कारबाही सुनिश्चित गर्न थप प्रमाण र कागजातहरूको अध्ययन भइरहेको जानकारी पनि उनले दिए।
यस प्रकरणमा रवि लामिछानेलाई विभिन्न सहकारी ठगी मुद्दाहरूमा धरौटीमा रिहा गरिएको भए पनि नयाँ प्रतिवेदनले थप आरोप लगाउँदै लामिछानेसहितका प्रतिवादीहरूलाई अदालती प्रक्रियामा तान्ने तयारी गरेको छ। यसले लामिछानेको राजनीतिक जीवनमा गम्भीर असर पर्ने अनुमान गरिएको छ।




























