पोखरा, १७ माघ । पोखराको सूचना प्रविधि (आईटी) व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘B2B Summit 2025’ आयोजना हुने भएको छ। क्यान महासंघ कास्की (CAN Federation Kaski) को आयोजनामा माघ १८ गते शुक्रबार ग्यालेक्सी ब्याङ्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि., पोखरा–१७, बिरौटामा यो कार्यक्रम सञ्चालन गरिनेछ।

सूचना प्रविधि क्षेत्रमा व्यवसाय गर्ने, लगानी गर्न इच्छुक व्यक्तिहरू, तथा प्रविधिमा नयाँ अवसर खोजिरहेका उद्यमीहरूका लागि यो कार्यक्रम विशेष रूपमा लक्षित गरिएको छ। क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरका अनुसार समिट सूचना प्रविधिसम्बन्धी नवीनतम विकास, डिजिटल परिवर्तनका प्रभावहरू, र व्यवसाय विस्तारका रणनीतिहरूमा केन्द्रित हुनेछ। पोखरालाई सूचना प्रविधिको हबका रूपमा स्थापित गर्न सकिने सम्भावनाहरूको खोजी गर्नु यस समिटको मुख्य उद्देश्य हो।

समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आईटी कम्पनीहरू, स्टार्टअपहरू, तथा प्रविधि क्षेत्रमा कार्यरत व्यवसायीहरूबीच प्रत्यक्ष भेटघाट, सहकार्यका अवसरहरू, र लगानीका सम्भावनाहरूबारे छलफल हुनेछ। आईटी क्षेत्रमा नवप्रवर्तनलाई आत्मसात गर्दै व्यवसाय विस्तार गर्न चाहनेहरूका लागि यो कार्यक्रम प्रभावकारी मञ्च बन्ने आयोजकको दाबी छ।

यस कार्यक्रमको शीर्ष प्रायोजक युनिटेक (Unitek) रहेको छ भने Nexgen IT Solutions Pvt. Ltd., HMC Nepal Pvt. Ltd., UNV, Eagle Tech Nepal, र TechWorld Distribution जस्ता प्रतिष्ठित कम्पनीहरू B2B पार्टनरका रूपमा सहभागी हुनेछन्। कार्यक्रमलाई व्यवस्थित बनाउन ग्यालेक्सी ब्याङ्क्वेट (Hospitality Partner), होटल देजा-भू (Hotel Partner), सोल्टी (Drinking Water Partner), र GS Print & Suppliers (Printing Partner) को विशेष सहकार्य रहनेछ।

UNV का नेशनल सेल्स म्यानेजर सर्दक अधिकारीका अनुसार समिटले आईटी क्षेत्रमा संलग्न उद्यमीहरूलाई व्यवसाय विस्तार गर्न, लगानीका नयाँ अवसरहरू पत्ता लगाउन, तथा नवीनतम प्रविधिहरूलाई आत्मसात गर्न महत्वपूर्ण योगदान दिनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0