पोखरा, २२ माघ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने चिकित्सकहरू बताउँछन्। सही समयमा रोगको पहिचान भएमा यसको उपचार सम्भव हुने स्वास्थ्य विज्ञहरूको भनाइ छ। नेपालमा हरेक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी देखिने गरेका छन् भने सन् २०२० मा मात्र १६ हजार ६२९ जनाको मृत्यु भएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नियमित स्वास्थ्य परीक्षण गरेर क्यान्सरको प्रारम्भिक पहिचान गर्न सकियो भने यसलाई निर्मूल पार्न सम्भव छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले क्यान्सरलाई अन्य दीर्घ रोगजस्तै ठान्नुपर्ने बताउँदै उपचार गरिएमा जस्तोसुकै अवस्थाको क्यान्सर पनि नियन्त्रण गर्न सकिने बताए।
क्यान्सरका चार चरण हुन्छन्। डा. शाहीका अनुसार चरण शून्यदेखि तेस्रो चरणसम्मको क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ भने चौथो चरणको क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ। क्यान्सर एक अङ्गबाट अर्को अङ्गमा सरेमा भने खतरा बढ्न सक्छ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्जवल चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार सम्भव छ। सरकारी अस्पतालहरूमा क्यान्सरको उपचार तुलनात्मक रूपमा सस्तो रहेको र शल्यक्रियाका लागि ४० देखि ५० हजार रुपैयाँ लाग्ने उनले जानकारी दिए।
नेपालमा क्यान्सरको प्रमुख कारणहरू अत्यधिक मद्यपान, धूम्रपान, अस्वस्थ खानपान, वंशाणुगत कारण, विकिरणको प्रभाव तथा जीवनशैलीसँग सम्बन्धित छन्। विशेषज्ञहरूका अनुसार स्वस्थ जीवनशैली अपनाएर, तम्बाकूजन्य पदार्थको सेवन नगरेर र नियमित व्यायाम गरेर क्यान्सरको जोखिम कम गर्न सकिन्छ।
सरकारले क्यान्सरपीडितहरूलाई लक्षित गर्दै विभिन्न सहायता कार्यक्रम अगाडि सारेको छ। विपन्न नागरिक औषधि उपचार कोषबाट एक लाख रुपैयाँसम्मको उपचार खर्च सरकारले बेहोर्ने व्यवस्था गरिएको छ भने प्रदेश सरकारले थप एक लाख रुपैयाँको सहायता उपलब्ध गराउँदै आएको छ। नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’मा सहभागिता जनाएपछि आगामी चार वर्षसम्म ३५ प्रकारका बालक्यान्सरका औषधि निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको छ।
आज ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हुने कुल क्यान्सर मृत्युमध्ये एक तिहाइ तम्बाकूजन्य पदार्थ, मदिरा सेवन, असन्तुलित आहार तथा शारीरिक निष्क्रियताका कारण हुन्छ। नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन, पेट तथा आन्द्राको क्यान्सर सर्वाधिक देखिन्छ।
विशेषज्ञहरूका अनुसार क्यान्सर लागेको थाहा पाएपछि मानसिक रूपमा बलियो हुनु आवश्यक छ। समयमा उपचार गरिएमा क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ भन्ने सन्देश फैलाउँदै विश्व क्यान्सर दिवस मनाइँदैछ।


























