पोखरा, २४ माघ । तनहुँको म्याग्दे गाउँपालिकाले गण्डकी प्रदेशभित्रको पालिकास्तरीय अध्यक्षकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाले फागुन १३ देखि २२ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको हो।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, सेमिफाइनल चरणमा पुग्ने दुई टिमलाई १५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई १० हजार तथा सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।
सोही अवसरमा जिल्लास्तरीय ब्याडमिन्टन तथा वडास्तरीय भलिबल प्रतियोगिता पनि सञ्चालन गरिने भएको छ। ब्याडमिन्टनतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। म्याग्दे गाउँपालिकाका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुबैतर्फ विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिताले स्थानीय तथा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा टेवा पुग्नेछ। अध्यक्षकप फुटबल प्रतियोगिता म्याग्दे-५ छाङ पाटनको खेलमैदानमा सञ्चालन हुनेछ।





























