काठमाडौं, २७ माघ । नेपाल पुलिस क्लब परिसरमा अत्याधुनिक सुविधासहितको ‘द ब्लु पेभेलियन’ भवनको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सो भवनको उद्घाटन गर्दै प्रहरी कर्मचारीको शारीरिक र मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको पेभिलियनको महत्त्वलाई उच्च मूल्यांकन गरे।

कुल रु ७५ करोड ८७ लाख २९ हजारको लागतमा निर्माण गरिएको उक्त भवनमा बहुउद्देश्यीय हल, ब्याडमिन्टन कोर्ट, कन्फ्रेन्स हल, विशिष्ट तथा अतिविशिष्ट कक्ष, स्वास्थ्य कक्ष, जिम हलसहित दुईतले भूमिगत पार्किङजस्ता सुविधा छन्। भवनको शिलान्यास तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २०७६ भदौमा गरेका थिए।
सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले पेभिलियनको निर्माणले प्रहरीको कार्यसम्पादनमा थप कुशलता र व्यावसायिकता ल्याउने विश्वास व्यक्त गरे। उनले प्रहरी संगठनका सदस्यलाई शारीरिक तन्दुरुस्तीका साथै मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउन महत्त्वपूर्ण रहेको बताए। महानिरीक्षक वसन्तबहादुर कुँवरले आगामी दिनमा प्रहरी क्लबको संरचना विस्तार गरी नयाँ सुविधाहरू थप्ने योजनाको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले प्रहरीलाई कुनै पनि दबाब र भनसुन बिना प्रमाण र तथ्यमा आधारित न्यायसङ्गत अनुसन्धान गर्न निर्देशन दिए। उनले सरकारबाट कुनै पनि हस्तक्षेप नगर्ने बताउँदै निष्पक्षता र कानुनी शासनको पालनामा दृढ रहन प्रहरीलाई प्रेरित गरे।
सो अवसरमा नेपाल प्रहरीको इतिहास भाग–२ विमोचन, भवन निर्माणमा योगदान दिने व्यक्तिहरूलाई सम्मान, र प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु ७४ लाखको चेक हस्तान्तरण पनि गरिएको थियो।




























