पोखरा, २७ माघ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम महाधिवेशन आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू भएको छ। महाधिवेशनको उद्घाटन अध्यक्ष भट्टराईले परम्परागत शैली तोड्दै फूलमा पानी हालेर गर्नुभयो।
महाधिवेशनमा प्रमुख दलका नेताहरूलाई निमन्त्रणा नदिएकाले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलका कुनै पनि नेता कार्यक्रममा सहभागी भएनन्। मञ्चमा अध्यक्ष भट्टराईसँगै जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याललगायतका व्यक्तित्वहरू उपस्थित थिए।

महाधिवेशनलाई लक्षित गर्दै भट्टराईले मुलुकमा वैकल्पिक राजनीति आवश्यक रहेको र सत्तारूढ दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको धारणा राख्नुभएको छ। महाधिवेशनमा आगामी संगठनात्मक कार्ययोजना, नीतिगत मुद्दा तथा रणनीतिहरूमा छलफल हुने जनाइएको छ।




























