पोखरा, २७ माघ । काठमाडौंको टेकुमा आइतबार कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको हो।

महानगरले कवाडी गोदाम हटाउनका लागि नगर प्रहरीको टोली डोजर लिएर पुगेको थियो। तर, व्यवसायीहरूले विरोध जनाएपछि विवाद उत्पन्न भएको थियो। नगर प्रहरीको टोलीले संरचना हटाउन थालेपछि व्यवसायीहरूले अवरोध सिर्जना गरेका थिए। प्रहरीले व्यवसायीलाई हटाउन खोज्दा झडपको अवस्था सिर्जना भएको थियो।

घटनाका विषयमा नेकपा (एमाले) का नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्। उनले व्यवसायीलाई विस्थापित गर्न बल प्रयोग गरेर महानगरले अन्याय गरेको आरोप लगाएका छन्। “व्यवसायी र गरिबहरूलाई लखेटेर बालेन भाइले कस्तो ‘ब्यालेन्स सिटी’ बनाउन खोजेको बुझ्न सकिएको छैन,” बस्नेतले लेखेका छन्।

नगर प्रहरी बलका अनुसार अवैध संरचना हटाउने क्रममा व्यवसायीहरूले सिसाको बोत्तल प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि बल प्रयोग गर्नुपरेको थियो। प्रहरीको भनाइअनुसार व्यवसायीहरूले आफ्नो गोदाम हटाउन नदिने अडान लिएपछि स्थिति झन् जटिल बनेको हो।

घटनापछि स्थानीयस्तरमा महानगरको भूमिकाबारे विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले अवैध संरचना हटाउनु पर्ने महानगरको नीति उचित रहेको बताइरहेका छन् भने कतिपयले व्यवसायीहरूलाई उचित विकल्प नदिई विस्थापित गरिनु अन्यायपूर्ण भएको बताएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0