![k|ltlglw;efsf gjlgjf{lrt ;f+;bx? laxLjf/ gofF afg]Zjf]/ l:yt ;+;](https://recentsnews.com/wp-content/uploads/2025/02/राजेन्द्र-लिङ्देन-696x391.jpg)
पोखरा, १ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारलाई भ्रष्टाचार न्यूनीकरण र सुशासनमा ध्यान दिन आग्रह गरेका छन्। तनहुँको दमौलीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले दुई ठूला दल मिलेर सरकार बनेपछि जनभावना अनुसारको काम गर्नुपर्ने बताए।
उनले सरकारले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक स्थायित्वका विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिए। हाल सिमेन्टको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको उल्लेख गर्दै उनले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग समेत गरे।
अध्यक्ष लिङ्देनले पछिल्लो समय राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको दाबी गरे। उनले देशभर पार्टी प्रवेशको लहर चलेको बताउँदै दिनहुँजसो नयाँ कार्यकर्ता थपिने क्रम जारी रहेको उल्लेख गरे। उनका अनुसार पार्टी प्रवेश गरेका व्यक्तिहरूलाई कहिल्यै पश्चाताप गर्न नपर्ने गरी पार्टीले सही मार्गनिर्देशन गर्नेछ।
उनले संविधान संशोधनको विषयलाई पनि उठाउँदै हालको संविधानमा धेरै त्रुटिहरू रहेको र तिनलाई सच्याउन आवश्यक रहेको बताए। संविधान संशोधनबिना देशमा स्थिरता र दिगो विकास सम्भव नहुने उनको भनाइ थियो।



























