पोखरा, २ फागुन। गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार बस्ने भएको छ। माघ २१ गते स्थगित भएको बैठक फागुन २ गतेका लागि सारिएको थियो। प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बैठक बस्ने पुष्टि गरेको छ।
बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यद्यपि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न बाँकी रहेको सचिवालयले जनाएको छ। बैठकका लागि कार्यसूचीको तयारी भने पूरा भइसकेको छ।
आजको बैठकमा प्रदेश निजामती ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पेस गरिनेछ। साथै, औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक र सामयिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि टेबल गरिनेछ। प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदनसमेत बैठकमा प्रस्तुत गरिनेछ।
प्रदेश सभाको बैठकले महत्वपूर्ण विधेयकहरू टेबल गर्ने भएकाले राजनीतिक दलका नेताहरू र प्रदेश सभासद्भन्दा व्यापक चासो देखिएको छ। आगामी दिनमा विधेयकहरू पारित गर्ने प्रक्रियामा दलहरूबीच छलफलको आवश्यकता रहेको नेताहरूको भनाइ छ।




























