पोखरा, २ फागुन। पोखरा महानगरपालिकाले आगामी वर्षलाई ‘पोखरा भ्रमण वर्ष २०२५’ को रूपमा मनाउने घोषणा गरेको छ। फागुन ३ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरी भ्रमण वर्ष घोषणा गरिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।
कार्यक्रममा संघीय पर्यटन मन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालसहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहनेछ। पोखराका ३३ वटै वडा र पोखरा पर्यटन परिषद्को टोली ¥याली निकाल्दै प्रदर्शनी केन्द्रमा भेला हुने तयारी भइरहेको छ।
पोखरा भ्रमण वर्ष २०२५ अन्तर्गत स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। यसको लागि पोखराका प्रवेशद्वारहरूमा पर्यटकको अभिलेख राख्ने योजना रहेको मेयर आचार्यले बताए। उनले यसअघि नै पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको उल्लेख गर्दै भ्रमण वर्षको माध्यमबाट पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्य रहेको स्पष्ट पारे।

भ्रमण वर्षलाई सफल बनाउन जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा पर्यटन व्यवसायीहरू सम्मिलित १,५५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ, जसको संयोजक स्वयं मेयर आचार्य रहेका छन्।
समितिले पोखरालाई पर्यटनको हबका रूपमा प्रवद्र्धन गर्ने, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रलाई मजबुत बनाउने, प्रचारात्मक अभियान सञ्चालन गर्ने, पोखराको ब्राण्डिङ गर्ने र विशेष कार्यक्रम आयोजना गर्ने कार्यसूची बनाएको छ।
स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न विभिन्न अभियान सञ्चालन गरिनेछ भने अन्तर्राष्ट्रिय तहमा पोखराको पर्यटन प्रवद्र्धनका लागि अन्य देशहरूसँग भगिनी सम्बन्ध स्थापना गर्ने योजना समेत अघि सारिएको छ। गैरआवासीय नेपाली तथा स्वदेशी पाहुनाहरूलाई पनि परिवारसहित पोखरा भ्रमण गर्न आह्वान गरिनेछ।

पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ भने भ्रमण वर्षको उद्घाटन समारोहकै दिन विभिन्न पर्यटकीय प्याकेज सार्वजनिक गरिने तयारी छ। मेयर आचार्यका अनुसार पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यहाँको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई नयाँ उचाइमा पुर्याउन यो भ्रमण वर्ष महत्वपूर्ण बन्नेछ।
पोखरा भ्रमण वर्ष २०२५ मुल तथा उप समितिहरु




























