पोखरा, ४ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिए। संसदमा हुँदै आएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा १० जना सांसदहरुले प्रश्न सोधेका थिए। प्रधानमन्त्री ओलीले ९ जना सांसदका प्रश्नहरुको जवाफ दिए तर १० औं प्रश्नकर्ता सांसद प्रभु साहप्रति आक्रोश व्यक्त गरे।

प्रधानमन्त्री ओलीले साहको प्रश्नको जवाफ नै दिएनन्। साहले सोधेका प्रश्नहरुप्रति प्रधानमन्त्रीले आपत्ति जनाएपछि सांसद साहले उठेर प्रतिवाद गर्न खोजेका थिए। तर, सभामुखले दोहोरो सम्वाद गर्न नपाइने भन्दै रुलिङ गरे।

अन्य सांसदले सोधेका राष्ट्रिय महत्वका प्रश्नहरुको भने प्रधानमन्त्री ओलीले क्रमिकरुपमा जवाफ दिए। प्रकाश ज्वालाले सडक र अस्पताल निर्माणका बारेमा प्रश्न सोध्दा प्रधानमन्त्री ओलीले उनको अघिल्लो कार्यकालमा सुरु गरिएका योजनाहरु पछिल्ला सरकारले रद्द गरेको बताए। उनले भने, “मेरो अघिल्लो कार्यकालमा मैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालहरुको आवश्यकता महसुस गरी सो को निर्माणको सुरुवात गरेको थिएँ। तर त्यसको केही समयपछि नै सरकार परिवर्तन भयो र म बाहिरिएँ। त्यसपछि आउने सरकारहरुले ती कार्यक्रमहरु रद्द गरे।”

प्रतिक्षा तिवारीले मधेश प्रदेशमा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति बारे प्रश्न सोध्दा प्रधानमन्त्री ओलीले जयनगर-जनकपुर-कुर्था रेलवे, काठमाडौं-तराई मधेश द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सुनकोशी मरिन डाइभर्सन जस्ता आयोजनाहरुको प्रगति बारे जानकारी दिए। उनले भने, “जयनगर-जनकपुर-कुर्था-विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुबाहक रेलसेवा दैनिक संचालन भएको छ।”

प्रेमबहादुर आलेले सुदुरपश्चिम प्रदेशको धनगढी-खुटिया-दिपायल-बझाङ चैनपुर हुँदै उरै भञ्ज्याङ्ग सडक निर्माण बारे प्रश्न सोध्दा प्रधानमन्त्री ओलीले यो सडक निर्माणलाई प्राथमिकतामा राखिएको बताए। उनले भने, “धनगढीदेखि दिपायल हुँदै उरै भञ्ज्याङ्गसम्म निर्माण हुने सडकले यात्रा अवधि उल्लेखनीय मात्रामा घट्न जाने हुनाले यसको निर्माण र स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको छ।”

प्रभु साहले नेपाली नागरिकता त्यागेर विदेशी हुनेहरुको संख्या, उनीहरुको पैत्रिक सम्पत्ति, रेमिट्यान्स आउने प्रक्रिया, ट्रेड युनियनको हक, कर प्रणाली, भारत भ्रमण, अध्यादेश पारित गर्ने प्रक्रिया, संघीय राजधानी जोड्ने राजमार्ग र आवासविहीनहरुलाई दिइने सहयोग बारे प्रश्न सोधे। तर प्रधानमन्त्री ओलीले साहको प्रश्नको जवाफ नै दिएनन्। उनले साहप्रति आक्रोश व्यक्त गर्दै भने, “सम्माननीय सभामुख महोदय, उहाँले, माननीयजीले गर्नुभएका प्रश्नहरुमा खासै जवाफ दिइरहनुपर्ने छैन। सबै प्रश्नहरुको उत्तर आफैंले बोकेर आउनुभएको छ। त्यसकारण मैले धेरै उत्तर दिइरहनुपरेन।”

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0