पोखरा, ५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन्। प्रदेशसभाको कार्यसूचीअनुसार बिहान ११ः३० बजे प्रधानमन्त्री ओलीको सम्बोधन तय भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्रीको सम्बोधनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) अनुसार प्रधानमन्त्रीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन्।
प्रधानमन्त्री ओलीको प्रदेशसभामा सम्बोधनलाई विशेष महत्त्वका साथ हेरिएको छ। यसअघि पनि उनले विभिन्न प्रदेशसभामा विशेष सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रमबारे धारणा सार्वजनिक गरेका थिए।
लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली दाङको घोराहीमा आयोजना हुने सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम छ।




























