सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभामा आपत्ति

पोखरा, ५ फागुन। प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभाबारे दिएको अभिव्यक्तिप्रति सांसदहरूले कडा आपत्ति जनाएका छन्। राष्ट्रियसभा ‘वृद्धाआश्रम’ भएको टिप्पणी गरेपछि आइतबारको राष्ट्रियसभा बैठकले शाहीको भनाइलाई आपत्तिजनक ठहर गर्दै खेद प्रस्ताव पारित गरेको हो।

सांसद शाहीले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्तिको बचाउ गर्दै थप कटाक्ष गरेका छन्। उनले फेसबुक स्टाटसमार्फत लेखेका छन्, “चुनाव हारेका हरुवा चरुवा भर्ती गर्ने केन्द्र राष्ट्रियसभा बनाइएपछि यसलाई बालआश्रम भन्नुपर्ने हो?” उनले सांसदहरूलाई चुनाव जितेर आउन चुनौती दिँदै भने, “राष्ट्रियसभालाई युवाहरूको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।”

शाहीको भनाइप्रति राष्ट्रियसभा सांसद नारायणदत्त मिश्रले आपत्ति जनाउँदै सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताए। उनले सांसदहरूलाई ‘भत्ता खान मात्र जाने’ भनेर आरोप लगाउनु गम्भीर विषय भएको उल्लेख गरे।

त्यस्तै, सांसद जयन्तीदेवी राईले शाहीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भन्दै उनले राष्ट्रियसभाको गरिमा गिराउने काम गरेको आरोप लगाइन्। उनले भनिन्, “राष्ट्रियसभालाई वृद्धाआश्रम र पाहुनाको थलो भनेर टिप्पणी गर्नु निन्दनीय छ।” त्यसैगरी, अन्य सांसदहरूले पनि शाहीको अभिव्यक्तिलाई संसदको मर्यादाविपरीत रहेको भन्दै असन्तुष्टि जनाएका छन्।

Give Your Feedback