पोखरा, ५ फागुन। पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा आगलागीबाट घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अस्पतालबाट डिस्चार्ज हुँदै छन्। मेयर धनराज आचार्य भने केही दिन अझै अस्पतालमै रहने भएका छन्।

कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार अर्थमन्त्री पौडेलको घाउ निको हुँदै गएकाले डिस्चार्ज गर्ने निर्णय गरिएको हो। उनको फोक्सोमा कुनै समस्या नदेखिएको र स्वास्थ्य सामान्य भएकाले अस्पताल छाड्न अनुमति दिइएको अस्पतालले जनाएको छ।

पोखरा महानगरका मेयर आचार्य भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेकोले चिकित्सकहरूले थप सतर्कता अपनाइरहेका छन्। हृदयरोग विशेषज्ञको परामर्शअनुसार उनको केही दिन अस्पतालमै उपचार गरिने भएको छ।

शनिबार पोखरामा आयोजित भ्रमण वर्ष उद्घाटनका क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन आगोको झिल्कोमा परेर विस्फोट हुँदा प्रमुख अतिथि पौडेल र मेयर आचार्य घाइते भएका थिए। दुबैजनालाई तत्कालै हेलिकोप्टरमार्फत काठमाडौं ल्याई बर्न अस्पतालमा भर्ना गरिएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0