पोखरा, ५ फागुन। प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक पारित गर्ने तयारी गरेको छ। तर, अख्तियार ऐन संशोधन विधेयक भने अझै पनि संसदीय प्रक्रियामा पछि परेको छ। दुवै विधेयक २०७६ सालमा दर्ता भएर सँगै अगाडि बढे पनि अख्तियारसम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमै रोकिएको छ।
२०७९ साल चैत २७ गते राष्ट्रिय सभाले दुवै विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको थियो। २०८० साल भदौ ३१ गते प्रतिनिधि सभाले दुवै विधेयकलाई छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो। समितिले दुवै विधेयकमाथि उपसमिति बनाएर छलफलसमेत गर्यो। तर, २०८१ साल पुस १८ गते समितिले भ्रष्टाचारसम्बन्धी विधेयक पारित गर्दै अख्तियार ऐन संशोधन विधेयकलाई भने थाँती राखेको छ।
अब सोमबार प्रतिनिधि सभाले भ्रष्टाचारसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची राखेको छ। तर, अख्तियार ऐन संशोधन विधेयक प्राथमिकतामा पर्न सकेको छैन। राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले चालू अधिवेशनमै अख्तियार विधेयकलाई पनि अगाडि बढाइने बताएका छन्। माघ ३० गतेको बैठकमा सांसदहरूले विधेयक किन रोकिएको भनी प्रश्न उठाएपछि सभापति खतिवडाले यो विधेयक छिट्टै प्रतिनिधि सभामा प्रस्तुत हुने प्रतिबद्धता जनाएका थिए।





























