पोखरा, ७ फागुन। भारतको ओडिसा राज्यस्थित कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि नेपालका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभामा मंगलबार भएको बैठकमा सांसदहरूले घटनालाई नेपाली स्वाभिमानसँग जोड्दै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न निर्देशन दिएका छन्।

सांसद तुलप्रसाद विश्वकर्माले विदेशी भूमिमा नेपालीको आत्मसम्मानमाथि पटक–पटक हमला भइरहेको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताए। सांसद राधेश्याम पासवानले घटनाको सत्यतथ्य छानबिन गर्न भारत सरकारलाई कूटनीतिक माध्यमबाट दबाब दिनुपर्ने बताए। सांसद कृष्णबहादुर रोकायाले उक्त कलेज प्रशासनले विद्यार्थीको सुरक्षाका लागि चासो नदेखाएको आशंका व्यक्त गरे।

सांसद मदनकुमारी शाह ‘गरिमा’ले नेपाली विद्यार्थीहरू असुरक्षित महसुस गर्नुपर्ने अवस्थाले देशको गरिबीको पीडा उजागर गरेको बताइन्। सांसद मोहम्मद खालिदले नेपाली विद्यार्थीमाथि अन्यायपूर्ण व्यवहार भएको भन्दै सरकारको कमजोरीप्रति असन्तुष्टि जनाए। सांसद रेणु चन्दले नेपाल सरकारले भारत सरकारलाई नेपाली विद्यार्थीका लागि भारत असुरक्षित हो कि होइन भनेर स्पष्ट प्रश्न राख्नुपर्ने बताइन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले पनि घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली विद्यार्थीहरूका लागि सुरक्षासहितको वातावरण निर्माण गर्न पहल गर्न निर्देशन दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0