पोखरा, ७ फागुन। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा पटक–पटक व्यवस्था बदलिए पनि जनताको जीवनस्तरमा सुधार नआएको आरोप लगाएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले व्यवस्था मात्र परिवर्तन गरेर देशको अवस्था नबदलिएको टिप्पणी गरेका छन्।
राष्ट्रको रक्षा र राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै पूर्वराजाले नागरिकलाई आफूलाई साथ दिन आह्वान गरेका छन्। उनले देशको समृद्धिका लागि राजगद्दी त्याग गरेको स्मरण गर्दै जनताको भलोका लागि ओहोदा र व्यक्तिगत सुखसुविधा पनि त्यागेको दाबी गरेका छन्। तर, उनले राजसंस्थाको अन्त्यलाई कमजोरी नठान्न राजनीतिक दलहरूलाई चेतावनीसमेत दिएका छन्।
प्रजातन्त्रलाई बलियो बनाउन जनता र राजासँगै लागेको इतिहास साक्षी रहेको भन्दै शाहले आजको शासन प्रणालीले सबै नागरिकलाई पहिचान र अस्तित्व दिनुपर्ने धारणा राखे। उनले निषेधको राजनीति र अहंकारले प्रजातन्त्रलाई गतिशील बनाउन नसक्ने तर्क गर्दै सहमति, सहकार्य र समावेशिताको आवश्यकता रहेको बताए।
देशको अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै पूर्वराजाले नेपाली युवा विदेशी भूमिमा श्रम गर्न बाध्य भएको, विद्यार्थी र शिक्षकहरूको संख्यामा गिरावट आएको तथा व्यापार व्यवसाय धरासायी बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले नेपाली नागरिक जन्मजातै ऋणको भारी बोकेर अघि बढ्नुपर्ने स्थितिलाई दुःखद् बताए।




























