पोखरा, ७ फागुन। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आजको दिनलाई नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिएको बताएका छन्। उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत रहेको मान्यता यस दिनले स्थापित गरेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले भने, “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष र शहीदको बलिदानबाट स्थापित गरिएको हो, त्यसैले यो दिन गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ।” उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।
उनले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको पनि बताए। लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि चयन हुने प्रक्रिया र संविधानतः तीनै तहका सरकारको गठनलाई ऐतिहासिक उपलब्धि मान्दै भविष्यको सुखद् यात्रा प्रारम्भ भएको विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात र अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका अग्रजप्रति सम्मान प्रकट गरे। उनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल र राज्यका सबै अंगलाई संवैधानिक मूल्य र मान्यता कार्यान्वयन गर्न प्रेरित हुने अपेक्षासमेत व्यक्त गरे।
यसैगरी, राष्ट्रपति पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न मद्दत पुर्याउने कामना गरेका छन्। विसं २००७ को क्रान्तिको सफलतासँगै निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण संघर्षका परिणामस्वरूप मानवअधिकार र राजनीतिक स्वतन्त्रता प्राप्त भएको ऐतिहासिक उपलब्धिको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आएको छ।




























