पोखरा, ७ फागुन। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन्।
बुधबार प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था सुधार गर्न सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डालाई प्राथमिकता दिनुपर्ने बताए। उनले प्रजातन्त्र दिवसले देशका चुनौतीहरू पार गर्दै नवीन सम्भावनाहरू हासिल गर्न प्रेरणा दिने उल्लेख गर्दै ऐतिहासिक संघर्षको योगदानलाई स्मरण गरे।
उनले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन, जनयुद्ध, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन तथा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण संघर्षहरूले वर्तमान उपलब्धिहरू सम्भव भएको बताए। अध्यक्ष दाहालले देशलाई स्थायित्व र समृद्धितर्फ लैजान सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।




























